राष्ट्रिय बुद्धिचालमा रुपेश र कृतिसराको अग्रता

दमक । २६औँ खुल्ला तथा ११ औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताअन्तर्गतको राष्ट्रिय खेलमा रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता लिएका छन् ।

राष्ट्रिय खेलकुद परिषदबाट गठित झापाको दमकमा आयोजित प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा एफएम रुपेश जैसवालले क्रमशः सिएम पुरुषोत्तम सिलवाल, राजन सुवेदी र मुहान नरसिह श्रेष्ठलाई पराजित गर्दै पूर्ण ३ अंक जोडेका छन् ।

महिला स्पर्धातर्फ कृतिसरा अधिकारीले पूजा भण्डारी, नुमा सुब्बा र एञ्जल महर्जनविरुद्ध जीत दर्ता गर्दै पूर्ण ३ अंक जोडेकी छिन् ।

युवा आशिष फूयाँल २.५ अंक बनाउँदै द्वितीय स्थानमा छन् । उनले अभिक शाह र ज्वाला इम्बुङलाई माथ गर्दै सहपाठी कमल श्रेष्ठसँग बराबरी नतिजा निकालेका हुन् ।

खेलमा रिसोन थापाले राजन सुवेदी र मुहान नरसिंहसँग बराबरी र कमल श्रेष्ठलाई हराउँदै २ अंकका साथ तेस्रो स्थानमा छन् । समान अंकमा रिसोन सँगै सिएम पुरुषोत्तम सिलवाल, सिएम सुश्रुत दहाल लामबद्ध बसेका छन् ।

राजन सुवेदी, मुहान नरसिंह, ज्वाला इम्बुङको समान १.५ अंक तथा कमल श्रेष्ठ, एआईएम अभीक शाह, सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राई समान ०.५ अंकमा छन् ।

महिलातर्फ निहाना श्रेष्ठले एञ्जल महर्जन र इशा गिरिलाई हराउँदै प्रिया क्षेत्रीसँग बराबर नतिजामा २.५ अंक जोडिन् । समान २.५ अंक बनाउँदै प्रियाले इशा र प्रविशालाई पराजित गर्दै निहानासँग बराबरी गरिन् ।

सुशीला गुरूङले २ अंक जोडिन् । एञ्जेल महर्जन, पूजा भण्डारी, विनिता कपाली, सिन्दिरा जोशीको समान १.५ अंक बनेको छ । प्रविशा दवाडीको १ अंक छ । इशा गिरी,पुनम प्रसाईंको ०.५ अंक छ । नुमा सुब्बाको अंकको खाता खुल्न सकेको छैन ।

सोमबार प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश, विराटनगरका सदस्यसचिव बिप्लव घोषले कार्यक्रमको उद्घाटन गरेका छन् । उनले सबै खेलका खेलाडीलाई मेडल प्राप्त गरे मुताबिक नगद पुरस्कार प्रदान गरिदै आएको जिकिर गरेका छन् । खेलाडी आत्मनिर्भर हुने बाटो निर्माण गर्नु पर्ने धारणा व्यक्त गरेका छन् ।

कार्यक्रममा विशेष अतिथि दकम नगरपालिकाका मेयर दीपक थापा, प्रतियोगिताका सहसंयोजक दीपेन राई, महासचिव धरमबहादुर लामा, सदस्य राजु ताम्राकार, सानुराज बज्राचार्य लगायतको उपस्थिति रहेको थियो । झापा जिल्ला बुद्धिचाल संघका अध्यक्ष भुपेन्द्र निरौलाको सभापतित्वमा सञ्चालन भएको थियो ।

Published : Tuesday, 2026 June 16, 4:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया