विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कांग्रेसको कुरा टुङ्गिन्छ : कृष्णप्रसाद सिटौला
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपालमा डर र तर्साउने राजनीतिक संस्कृतिको अन्त्य गर्न कांग्रेसले अग्रसर हुनुपर्ने बताएका छन् ।
आइतबार विराटनगरमा शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षीय नेताहरुको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता सिटौलाले मुलुकमा भएको राजनीति संस्थागत बन्दै गएको बताए ।
‘नेपाल तर्सनेहरूको देश बनेको छ,’ सिटौलाले भने, ‘राष्ट्रपति नै तर्सिनुभयो, आन्दोलन भयो, प्रतिनिधिसभा विघटन गरिदिनुभयो, प्रधानमन्त्री नियुक्त गरिदिनुभयो । संविधानमा त्यस्तो कल्पना छैन । हामी पनि डराएर मान्यौँ ।’
उनले कांग्रेसले अब डराउने र तर्साउने प्रवृत्तिको अन्त्य गर्दै लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाको रक्षा गर्नुपर्ने बताएका छन् । विशेष महाधिवेशनको सन्दर्भ उल्लेख गर्दै सिटौलाले संविधानको आधारभूत संरचनामा परिवर्तन हुन नसक्ने बताएका छन् । ‘एउटै पार्टी कांग्रेस हो, जसले शासकले जनताको मनमा पारेको भ्रम हटाउन सक्छ,’ नेता सिटौलाले भने ।
नेता सिटौलाले पार्टीभित्र देखिएको आन्तरिक विवाद, महाधिवेशनको अन्योल र कार्यशैलीको विरोध गरेका छन् । विवाद समाधान गर्न नेतृत्वले साहसिक निर्णय लिनुपर्ने भन्दै उनले अनावश्यक ढिलासुस्ती र नाटक अन्त्य गर्न आग्रह गरेका छन् ।
‘विवाद के होला भनेर नडराउनुस्, १० मिनेटमै कुरा टुङ्गिन्छ । यो साहस हृदयबाट आउनुपर्छ,’ उनले भने, ‘लेख्ने र मेटाउने शक्ति तपाईहरूसँगै छ, अब एकमुष्ट निर्णय गरेर अघि बढ्नुस् ।’
उनले विगतका महाधिवेशनका अभ्यासलाई आधार बनाएर आगामी महाधिवेशन समयमै सम्पन्न गर्नु पर्ने बताए । पार्टीभित्र आफ्नै साथीहरूमाथि गरिएको व्यवहार लोकतान्त्रिक मूल्यविपरीत रहेको उनले बताएका छन् ।
‘हामी लोकतन्त्रवादी हौँ, हामीमा मानवता हुनुपर्छ,’ नेता सिटौलाले भने, ‘शत्रु पक्षलाई त त्यस्तो व्यवहार गरिँदैन भने आफ्नै साथीहरूमाथि भएको व्यवहार निन्दनीय छ ।’
देशको लोकतन्त्र र संवैधानिक व्यवस्था चुनौतीमा रहेको उल्लेख गर्दै सिटौलाले कांग्रेसले आन्तरिक विवाद छिट्टै समाधान गरी बलियो र एकताबद्ध बन्नुपर्ने बताएका छन् । संस्थापन पक्ष जिम्मेवार भएर अघि बढे मात्रै पार्टी र देश दुवैको संकट समाधान सम्भव हुने उनले बताए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया