विपक्षी दलहरूसँग रास्वपाको सम्वादको ढोका खुल्यो, भारतसँग भएका कुराकानीबारे जानकारी दिए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विपक्षी दलहरूलाई भारत भ्रमणबारे जानकारी गराउनुका साथै सरकारको अहिलेसम्मका कामकारबाहीबारे टिप्पणी तथा सुझाव लिएका छन् ।

सोमबार सिंहदरबारमा सभापति लामिछानेले विपक्षी दलहरूको बैठक राखेर दुई वटा विषयमा छलफल र सुझाव लिनका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई वटा विषयलाई केन्द्रमा राखेर छलफल भएको बताएका छन् । भारत भ्रमणबारे जानकारी गराउने र सरकारको अहिलेसम्मका कामकारबाहीबारे टिप्पणी, सुझाव लिनका लागि बोलाइएको बताएका छन् ।

राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पहिलो कुरा सबै दललाई भेटघाट गरेर राम्रो सुरूवात भएको छ, यसले निरन्तरता पाओस् भन्यौं । भारत भ्रमणको सन्दर्भमा भने हामीले जानु अगाडि नै भेट भएको भए राम्रो हुन्थ्यो भन्यौं ।’

भारत भ्रमणको सन्दर्भमा सरकारका केही कामहरू ठीक नभएको लिङ्देनले बताएका छन् । ‘गणतीय हिसाबले प्रतिपक्षी कमजोर छौं । विकल्पहीन छौं भनेर शक्ति पृथकीकरणको सिद्धान्तलाई भत्काउने काम नहोस् प्रारम्भिक लक्षणहरू ठीक देखिएको छैन भन्यौं,’ उनले भने ।

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधि सभा बैठकमा नेपालले पनि भारतको जग्गा मिचेको भन्ने अभिव्यक्तिलाई लिएर राम्रो नभएको पनि बताएका छन् ।

‘वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहारहरू देखाउन भएन,’ राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘देश जित्नेको मात्रै होइन हार्नेको पनि हो । सरकारले गर्ने गलत कृयाकलापको शिकार सम्पूर्ण देशले व्यहोर्नुपर्ने हुन्छ ।’

‘त्यसकारण परिपक्व व्यवहार गरियोस्। चाहे प्रधानमन्त्रीले सीमासम्बन्धमा दिएको मन्तव्य होस् अथवा रास्वपाको सवालमा परराष्ट्रमन्त्री भारतमा गएर हामीले विगतको भारी बोक्दैनौं भन्नुभएको कुरा होस्,’ लिङ्देनले भने, ‘त्यसले धेरै अर्थ राख्छ । सुझाव राख्यौं ।’

परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणको क्रममा पूरानो भारी नबोक्ने भन्ने अभिव्यक्तिमा पनि आफूहरूले प्रश्न उठाएको राप्रपा अध्यक्ष लिङ्देनले बताएका छन् ।

उनले भने, ‘हामीले लिम्पियाधुरा, लिपुलेक कालापानी हाम्रो हो भनेर ऐतिहासिकता तथ्य प्रमाणको आधारमा सर्वसम्मतिले संविधानमा राखेको कुरा छ । त्यो पनि बोक्दिन भन्ने अर्थ लाग्न सक्छ ।’

रास्वपाका सभापति लामिछानेले भारत भ्रमणको क्रममा पाएको सत्कारलाई सदुपयोग गर्न पनि दलका नेताहरूले सुझाव दिएको उनले बताएका छन् ।

संसदको गतिरोध भइरहेका बेला रास्वपाका सभापति लामिछानेले विपक्षी दलहरूसँग समग्र विषयमा छलफल गरेका छन् । रास्वपाले झण्डै दुईतिहाइको बहुमत पाएर सरकार गठन गरेको लामो समयपछि लामिछानेले विपक्षी दलहरूसँग छलफल गरेका छन् ।

Published : Monday, 2026 June 8, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया