रास्वपाको ३८ जल्लाको अधिवेशनमा रविको दुईतिहाइ भन्दा धेरै सभापति, बालेन पक्षधर निकै कम

काठमाडौं । केही जिल्लामा झडपका छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ३८ वटा जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

कतिपय जिल्लामा सभापतिसहित सर्वसम्मत कार्यसमिति चुनिएका छन् । अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति छानिएका छन् । केही जिल्लामा झडप हुँदा अधिवेशनको कार्यक्रम रोकिएको छ ।

३८ जिल्लाका अधिवेशन सम्पन्न हुँदै गर्दा अधिकांश सभापति रवि लामिछाने निकटको कार्यसमिति र सभापति आएको छ । वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निकटका सभापति र कार्यसमिति निकै कम आएका छन् ।

बागमती प्रदेशका ९ वटा जिल्लामा अधिवेशन सम्पन्न भएका छन् । ८ वटा जिल्लामा कार्यसमिति टुंगो लागिसकेको छ । सिन्धुपाल्चोकमा आइतबार निर्वाचन हुँदैछ ।

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ ९ गते चितवनमा हुँदैछ । महाधिवेशनका लागि रास्वपाले जिल्लाहरूमा अधिवेशन गरिरहेको छ ।

रास्वपाको झापा सभापतिमा ओमनाथ भण्डारी (निर्वाचन), मोरङमा भरत कँडेल, सुनसरीमा सागर दाहाल (निर्वाचन), तेहथुममा सुमन खत्री (सर्वसम्मत), ताप्लेजुङ राजनकुमार कुरुङ (सर्वसम्मत), भोजपुरमा ख्यामबहादुर भुजेल, ओखलढुङ्गामा कृष्णबहादुर थापा र संखुवासभामा भक्तनारायण श्रेष्ठ चयन भएका छन् ।

काठमाडौंमा राजा शाक्य (निर्वाचन), नुवाकोटमा रामेश्वर गजुरेल (निर्वाचन), धादिङमा राजन अर्याल, भक्तपुरमा रामेश्वर बस्नेत सभापतिमा चयन भएका छन् ।

काभ्रेपलाञ्चोकमा प्रवीण ढकाल (सर्वसम्मत), मकवानपुरमा सञ्जीव पाठक (सर्वसम्मत), सिन्धुलीमा अविनाश बस्नेत (निर्वाचन) सभापति चयन भएका छन् ।

पर्वतमा जलबहादुर पुर्जा (निर्वाचन), म्याग्दीमा युवराज रोक्का (सर्वसम्मत), कास्कीमा यदुनाथ अधिकारी (निर्वाचन), दाङमा किरण खनाल (निर्वाचन), पाल्पामा विष्णुप्रसाद भण्डारी (सर्वसम्मत), रोल्पामा बालाराम थापा (सर्वसम्मत), गुल्मीमा हरि श्रेष्ठ (सर्वसम्मत), हुम्लामा लक्ष्मण ऐडी (सर्वसम्मत) सभापति चयन भएका छन् ।

Published : Sunday, 2026 June 7, 12:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया