बुद्धिचालको राष्ट्रिय प्रतियोगिता दमकमा गर्ने निर्णय
भक्तपुर । २६औँ खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप र ११औँ महिला राष्ट्रिय च्याम्पियनसिप झापाको दमकमा गर्ने निर्णय भएको छ ।
शुक्रबार भक्तपुरमा बसेको नेपाल बुद्धिचाल महासंघको पूर्ण बैठकले प्रतियोगिता झापाको दमकमा गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले २६औँ खुल्ला राष्ट्रिय चेस च्याम्पियनसिप र ११औँ महिला राष्ट्रिय च्याम्पियनसिप गर्ने निर्णय गरेको छ ।
यसअघि बैठकले तोकेको स्थानलाई परिवर्तन गरी सोही मिति २०८३ जेष्ठ २९ गतेदेखि असार ४ गतेसम्म प्रतिस्पर्धा गर्न दुवै विधाका २४ जना खेलाडीको नाम निश्चित भइसकेको छ ।
राष्ट्रिय प्रतियोगितामा पुरुषतर्फ रिसोन थापा, अभिक शाह, कमल श्रेष्ठ, धिरेन राई, ज्वाला लिम्बु, मुहान नरसिंह श्रेष्ठ, शुश्रुत दाहाल, आशिष फुयाल र पुरुषोत्तम चौलागाईं रहेका छन् ।
महिलातर्फ पूजा भण्डारी, कृतिसारा अधिकारी, विनिता कपाली, प्रिया क्षेत्री, एञ्जल महर्जन, सुशीला गुरुङ, नुमा सुब्बा, निहाना श्रेष्ठ, प्रविशा दुबेदी र प्रज्ञा पन्तले नेपाल च्याम्पियनको लागि दावी प्रस्तुत गर्नेछन् ।
राष्ट्रिय प्रतियोगितामा प्रथमदेखि चौथोस्थान प्राप्त गर्ने र वर्तमान नेपाल विजेता सहित पाँच÷पाँच खेलाडी यही सेप्टेम्बर १० देखि २८ सम्म उज्बेकिस्तानमा हुने ४६ औं चेस ओलम्पियाडका लागि छनौट हुने छन् ।
नेपाल बुद्धिचाल महासंघले राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई आवास तथा खानासँगै सरकारी दररेटमा यातायात खर्च सुविधाको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगितामा पुरुष र महिला दुबै विधातर्फ विजेतालाई नगद रु. २५ हजार, उपविजेतालाई १५ हजार, तृतीय हुनेलाई १० हजार पुरस्कार तथा आकर्षक ट्रफी, तक्मा, प्रमाणपत्रको व्यवस्था गरिएको छ । बाकी बाह्रौंसम्मका खेलाडीहरूलाई जनही ५÷५ हजार प्रदान गरिनेछ ।
बैठकले नेपाल बुद्धिचाल महासंघको नियमित वार्षिक साधारण सभा आगामी २०८३ असार २७ गते लुम्बिनी प्रदेशको पाल्पा जिल्लामा आयोजना गर्ने निर्णय गरेको छ ।
नियमित साधारणसभा सम्पन्न गर्न महासंघले उपाध्यक्ष श्याम ब्यञ्जनकारको संयोजकत्वमा निरञ्जन प्रजापति र बालाराम पुनको तीन सदस्यीय विधान संशोधन समिति गठन गरेको छ ।
उपाध्यक्ष माधवप्रसाद प्रधानको संयोजकत्वमा धरमबहादुर लामा, चन्द्रमणि गैरे, प्रतिमा महत र करुणा काफ्लेको पाँच सदस्यीय साधारणसभा मूल व्यवस्थापन समिति गठन गरेको छ ।
उपाध्यक्ष शिवजिप्रसाद कानुको संयोजकत्वमा राजु ताम्राकार र रमिला पोखरेलको तीन सदस्यीय प्रतिनिधि व्यवस्थापन समिति गठन गरेको छ ।
साधारणसभा सचिवालय व्यवस्थापन समितिको संयोजक धरमबहादुर लामा रहेको पाँच सदस्यीय समितिमा सुशील चौधरी, सुशीला गुरुङ, निता श्रेष्ठ सैंजु र करुणा काफ्ले रहेका छन् ।
नेपाल खेलकुद विकास ऐन २०७७ र नेपाल बुद्धिचाल महासंघको विधान विपरित कार्य गरेकोले वरिष्ठ उपाध्यक्ष दीपेन राई, उपाध्यक्ष धनबहादुर बोगटी र कोषाध्यक्ष ताराबहादुर रानाभाटमाथि सात दिने स्पष्टीकरणको पत्रचार गर्न पनि निर्णय गरेको छ ।
बिचार/ब्लग
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया