रविले पाएको सम्मान हेर्दा नेपालको बलियो सरकारसँग भारत सहकार्य गर्न चाहन्छ

काठमाडौं । भारतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको भ्रमणलाई दिएको महत्व र स्वागत, सत्कारले नेपालसँग भारतले बलियो सहकार्य गरेर जान चाहेको संकेत गरेको छ ।

बुधबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग रास्वपाका सभापति लामिछानेले भेटवार्ता गरेका छन् । भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछानेलाई भारतीय सरकारले दिएको स्वागत र महत्वले नेपालसँग भारतले अझै मजबुत र गहिरो सम्बन्ध बनाउन चाहेको देखाएको छ ।

कुटनीतिमा हाउभाउ र संकेतहरूपनि निकै महत्वपूर्ण हुन्छन् । संकेत स्पष्ट छ, भारत बलियो सरकारसँग सहकार्य गर्न तयार छ । अब विवादमा रुमल्लिने होइन राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्न पर्छ ।

खोट खोज्ने हो भने त आफ्नै त हजार खोट छन्, छिमेकीको त के कुरा । समस्या रहित संसारमा कुनै सम्बन्ध छैन । विवादलाई सल्टाउदै आफ्नो फाइदा हेर्ने हो ।

मारामारको सम्बन्ध रहेका चीन र अमेरिका साख्खै बनेर अर्बौंको व्यापार गरिरहेका छन् । नेपालले पनि राष्ट्रवादको डंका पछि पिटेपनि हुन्छ । अहिले भारतसँग सुमधुर सम्बन्ध बनाएर जानुपर्छ । भारतले देखाएको कुटनीतिक स्वागतलाई नेपालले पनि सोहीअनुसार अनुशरण गर्नुपर्छ ।

नेपाल र भारतबीच सिमाना लगायतका विषयमा मतभेद र असमझदारी छन् भने कुटनीतिक सम्वादमार्फत समाधान खोज्न सकिन्छ । भारतले नेपाललाई टाढा राख्न चाहेको छैन ।

रास्वपाका सभापति लामिछानेलाई गरेको स्वागत, सत्कार र महत्व हेर्दा भारतले नेपाललाई अझै नजिकको छिमेकी राष्ट्र बनाएर जान चाहेको संकेत गरेको छ ।

भारतका लागि नेपाली पूर्वराजदूत डा.शंकर शर्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदीले गरेको सम्मानले नेपालप्रति विश्वास बढाएको बताएका छन् । भारतीय जनता पार्टीको निमन्त्रणामा नयाँदिल्ली पुगेका लामिछानेले मोदीलाई भेट्नु एकदमै सकारात्मक र परिस्थिति अनुकूल भनेर उनले टिप्पणी गरेका छन् । अब विवादका विषयहरू कूटनीतिक ढंगले सल्टाउन प्रधानमन्त्री वालेन्द्र शाहले तयारी गर्नुपर्ने बताउँछन् । भारतले विवादका विषयहरू कूटनीतिक ढंगले सल्टाउन नेपाललाई रेड कार्पेट ओछ्याउनुका साथै ग्रीन सिग्नल पनि दिएको बताउँदै शर्मा सभापति लामिछानेको भ्रमण सफल र फलदायी रहेको बताए ।

लामिछानेको भ्रमण विल्कुल पार्टीको तर्फबाट भएकाले सीमा विवादसहितका गम्भीर विषयमा सामान्य हिसाबले छलफल गर्नु नहुने शर्माले बताए । उनले भारत गएर जे गरे, त्यो उचित रहेको उनी बताउँछन्। मन्त्री र सरकारी कर्मचारीसमेत नलिई भारत गएका उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेप्रति प्रश्न उठाउने ठाउँ नरहेको शर्माले बताए । लामिछानेको यात्राले प्रधानमन्त्री शाहको भ्रमणलाई कुनै असर नपर्ने बताउँदै शर्माले दुई देशका सीमा विवाद र अरू विषय नेपालले कूटनीतिक रुपमा अब बलियो भएर टुङ्ग्याउनुपर्ने बताएका छन् । भारतले नेपाललाई गरेको अपार मायाप्रति कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको शर्माले बताएका छन् ।

Published : Wednesday, 2026 June 3, 6:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया