क्रियाशील सदस्यता नवीकरण पुसमा भइसक्यो, सबैलाई १५औँ महाधिवेशनमा सहभागी गराउँछौँ : पूर्णबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता लिएकाहरूलाई महाधिवेशनमा सहभागी गर्ने÷गराउनेमा दृढ एवम् प्रतिवद्ध रहेको बताएका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर निवर्तमान कार्यबाहक सभापति खड्काले पार्टीको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण भइसकेको बताएका छन् । उनले क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण २०८२ पौष १० गतेसम्ममा अधिकांस टुङ्गीसकेको बताए ।

‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्पूर्ण एकताको महाधिवेशनको रुपमा सम्पन्न गर्न प्रतिवद्ध छौं,’ खड्काले भने, ‘पार्टीको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम २०८२ पौष १० गतेसम्ममा अधिकांस टुङ्गीसकेको हो ।’

उनले भने, ‘त्यो वेला नवीकरण गर्न छुटेका, नवीकरण गर्न चाहाने एवम् नयाँ लिन चाहाने साथीहरूको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण गर्ने । १५औँ महाधिवेशनका लागि २०८२ पौष १० गतेसम्ममा टुंगीसकेका र त्यसपछि नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम गरि उनीहरू महाधिवेशनमा सहभागी हुने कुराको सुनिश्चितता गर्ने गराउने विषयमा हामी दृढ एवं प्रतिवद्ध रहेको कुरा स्पष्ट एवं आश्वस्त पार्न चाहान्छौं ।’

स्वदेश तथा विदेशमा रहेका नेपाली कांग्रेस पार्टी र भ्रातृ तथा शुभेच्छु संस्थाका विभिन्न तहका नेता, क्रियाशील सदस्य, समर्थक एवं शुभचिन्तक सम्पूर्ण साथीहरूलाई खड्काले १५औँ महाधिवेशनमा सहभागी गराउने बताए ।

निवर्तमान कार्यबाहक सभापति खड्काले कथित विशेष महाधिवेशनबाट आएको नेपाली कांग्रेसको नेतृत्वले अध्यावधिका नाममा गरिरहेको नौटंकीलाई अस्वीकार गरिदिएका छन् । उनले १५औँ महाधिवेशनका लागि भनेर क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यताहरूलाई महाधिवेशनमा सहभागी गराउने भनेका छन् । त्यो कसरी सहभागी गराउने हुन् केही भनिएको छैन ।

Published : Monday, 2026 June 1, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया