सर्वोच्चबाट भ्रष्टाचारी ठहर भएका सिंहले गरे कांग्रेसको क्रियाशील सदस्यता अध्यावधि

काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेस, सर्लाहीका पूर्व जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहले क्रियाशील सदस्यता अध्यावधि गराएका छन् ।

क्रियाशील सदस्यता अध्यावधि गराएको सूचना नेता सिंहले सामाजिक सञ्जालमार्फत दिएका छन् । सर्लाहीको धनकौल गाउँपालिका वडा नं. २ बाट सिंहले अध्यावधि गरेका हुन् । अध्यावधिपछि सिंहको एनसीआईडी नं. ०२७०३४ रहेको छ ।

सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर हुँदै कैद र जरिवाना सजाय भएपछि सिंहले नेपाली कांग्रेस, सर्लाहीको जिल्ला सभापति पदबाट राजीनामा दिएका थिए । भ्रष्टाचारी ठहर हुँदा समेत गगनसँग निकट रहेर सर्लाहीमा कांग्रेसमा हालीमुहाली गर्दै आएका छन् ।

भ्रष्टाचारी ठहर भएका सिंह गगन थापा निकटका हुन् । सिंहको गलत सल्लाह र सुझावका कारण गगन सर्लाही क्षेत्र नं. ४ मा उम्मेदवार बनेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहसँग गगन भारी मतको अन्तरबाट पराजित भएर काठमाडौं फर्किएका थिए ।

पूर्वसभापति सिंहलाई सर्वोच्च अदालतले कैद सजाय हुने ठहर गरिसकेको छ । भ्रष्टाचार मुद्दामा ९ महिना कैद तोकिएका सिंहले पछिल्लो समय गगनको वरीपरी हुने गर्छन् । गगनलाई आफ्नो घरमा बोलाएर सिंहले बेलाबेला शक्ति देखाउने गरेका छन् ।

विशेष अदालतले २०७१ पुस २५ मा मनुष्मारा सिँचाइ आयोजना क्षेत्रको वन मासेको मुद्दामा सिंहलाई दोषी ठहर गरेर डेढ वर्ष कैद र २ करोड ८९ लाख ७४ हजार ४६० जरिवाना हुने फैसला गरेको थियो । सो फैसलाविरुद्ध सिंहले सर्वोच्चमा पुनरावेदन गरे । विशेषले सिंहलाई थोरै सजाय गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।

सिँचाइ आयोजना क्षेत्रमा रहेको सिसौका रुख स्थानीय प्रशासनसँग मिलेर भारततर्फ बेचेको घटनामा सर्वोच्च अदालतले २०८० फागुन १५ मा विशेषले गरेको कैद र जरिवानामा ‘केही उल्टी’ हुने फैसला गरेको थियो । सर्वोच्च अदालतका अनुसार सिंहको हकमा विशेषले गरेको फैसलाको आधा सजाय ठहर भएको छ । सिंहलाई सर्वोच्चले ९ महिना कैद र १ करोड ४४ लाख ८७ हजार जरिवाना ठहर गरेको छ ।

२०५८ सालतिर मनुष्मारा उपभोक्ता समिति अध्यक्ष रहँदा सिंहकै नेतृत्वमा सिसौ फडानी भएको अख्तियारको अनुसन्धान निष्कर्ष छ । यसअघि सिंह प्रदेश सांसदमा उठ्न खोजे पनि अदालतबाट भ्रष्टाचारी ठहर भएकाले अन्तिम समयमा उठेका थिएनन् । भ्रष्टाचार मुद्दा लागेकोबारे प्रश्न उठेपछि उम्मेदवारी खारेज हुनसक्ने भन्दै उनले आफ्नो भाइ वीरेन्द्र सिंहलाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाए । वीरेन्द्रप्रसाद सिंह मधेस प्रदेश सरकारको महिला, बालबालिका तथा खेलकुद मन्त्री समेत बनाएका थिए ।

भ्रष्टाचार मुद्दामा अदालतबाट ठहर भएको कैद र जरिवाना भुक्तान गर्नुपर्छ । भ्रष्टाचार मुद्दामा १ दिन कैद सजायको फैसला भए पनि जेलमा बस्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

विशेष अदालतका तत्कालीन अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू भूपेन्द्रप्रसाद राई र महेशप्रसाद पुडासैनीले गरेको फैसलाको पूर्णपाठ अनुसार सिंह यसअघि ४ महिना २६ दिन कैद बसेको भेटिएको छ ।

घटना के थियो ?

२०५८ सालमा सुरेन्द्रप्रसाद सिंह मनुष्मारा सिँचाइ आयोजनाको उपभोक्ता समितिको अध्यक्ष र ठेकेदार पनि थिए । अर्का ठेकेदार थिए, अमिरी राय यादव । सिँचाइ आयोजना सञ्चालन गर्न रुखहरूले अप्ठेरो पारेको भन्दै आयोजना आसपासका १८ हजारभन्दा धेरै रुख उनीहरुले फडानी गरेर बेचेका हुन् ।

भारततर्फ रुख बेचेर आम्दानी भएको रकममध्ये केही रकम सरकारी खातामा जम्मा गरे पनि अधिकांश रकम उनीहरू आफैँले मासेको अख्तियारको अनुसन्धान निष्कर्ष छ ।

त्यसबिरुद्ध अख्तियारले अनुसन्धान गरेर वनमासी मुद्दा विशेषमा दायर गरेको थियो । २०८० फागुन १५ मा सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलले विशेषको फैसलामा ‘केही उल्टी’ हुने फैसला गरेका हुन् ।

Published : Saturday, 2026 May 30, 10:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया