उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ नेपालीहरूबारे अनुसन्धान शुरु

बुटवल । भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट उद्धार गरिएका ४५३ नेपालीलाई रुपन्देही ल्याएरले प्रहरीले अनुसन्धान थालेको छ ।

भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा कुशीनगर क्षेत्रको नेकवर्किङ बिजनेसको कार्यालयबाट शुक्रबार उनीहरूलाई उद्धार गरिएको थियो । उद्धार गरिएका सबैलाई शनिबार बेलहिया नाका हुँदै रुपन्देही पु¥याएर जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा राखिएको छ ।

उद्धार गरिएकामध्ये करिब १०० जना महिला रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए । उनले शंकास्पद ९ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको पनि बताए ।

कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई जागिर दिनेभन्दै २५ सय देखि ५ हजार रकम लिएर फारम भराउने, तालिमवापत पनि रकम लिने गरेको पाइएको छ ।

कतिपयलाई न्यून तलबमा रोजगारी दिएर अधिकांशलाई जागिरको आश्वासनमा अल्झाएर बन्धक बनाएर राख्ने गरेको उजुरीका आधारमा कुशीनगर पुगेर उद्धार गरिएको रूपन्देही एसपी शाहीले बताए ।

६ महिनासम्म अध्ययन पश्चात उत्तर प्रदेश र कुशीनगर प्रहरीसँगै लुम्बिनी प्रदेश प्रहरीसित समन्वयमा उद्धार गर्न सफल भएको एसपी शाहीले बताएका छन् ।

नेपाली दूतावासका मिनिस्टर कन्सुलर अम्विका जोशीले नेटवर्किङ बिजनेसका कारण पीडित बनेका व्यक्तिको गुनासोका आधारमा लामो समय अध्ययन गरेपछि नेपालीको उद्धार गरिएको बताए । नेटवर्किङ बिजनेसका सञ्चालक र पीडित दुवै नेपाली नै पाइएको प्रहरीले जनाएको छ ।

गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पु¥याएको खुलेको छ । प्रतिव्यक्ति ७ हजार भारतीय रूपियाँदेखि एक लाखसम्म रकम असुल गरेर सदस्यता विस्तार गर्दै नेटवर्किङ व्यवसायको शैलीमा सदस्यता विस्तार गर्दै लैजाने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

Published : Saturday, 2026 May 30, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया