लुम्बिनीमा कांग्रेसकै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सर्वसम्मत निर्णय

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले पूर्वसहमति अनुसार कांग्रेसकै नेतृत्वमा सरकारमा जाने सर्वसम्मत निर्णय गरेको छ ।

सोमबार लुम्बिनी प्रदेशको राजधानी देउखुरीको मसुरियास्थित संसदीय दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले कांग्रेसकै नेतृत्वमा सरकारमा जाने निर्णय भएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले बताए । त्यसका लागि पार्टी नेतृत्वले पहल गर्ने सर्वसम्मत निर्णय भएको चौधरीले बताए ।

पूर्व सहमतिअनुसार एमाले र कांग्रेसले आधा आधा कार्यकाल लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिने सहमति छ । सोही सहमतिलाई कार्यान्वयन गर्ने विषयमा बैठकमा छलफलपछि निर्णय भएको छ ।

एमालेबाट चेतनारायण आचार्य मुख्यमन्त्री छन् । उनको कार्यकाल समाप्त भएको छ । अब कांग्रेसले पूर्व सहमतिअनुसार सरकारको नेतृत्व पाउनुपर्ने हुन्छ ।

सरकारबाट व्यक्तिगत रुपमा मन्त्रीहरूलाई फिर्ता बोलाएर मन्त्री फेर्ने योजना तत्कालका लागि तुहिएको छ ।

बैठकमा धारणा राख्ने सांसदहरूले पूर्व सहमति अनुसार सरकारको नेतृत्व कांग्रेसले पाउनु पर्ने र त्यसका लागि पार्टी नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री सुरेन्द्र आचार्यको उपस्थिति रहेको बैठकमा सांसदहरूले धारणा राख्ने क्रममा कुनै तिक्तता देखाएनन् । सबैले सर्वसम्मत निर्णय गर्न र कांग्रेसको नेतृत्वमा सरकार ल्याउनुपर्ने पक्षमा धारणा राखेका छन् ।

Published : Monday, 2026 May 25, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया