बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट जेठ १३ देखि हुने

काठमाडौं । बागमती प्रदेशस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्डको छनोट प्रतियोगिता यही जेठ १३ देखि १५ गतेसम्म हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गरेर बागमती प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगिता छनोटको कार्यतालिका सार्वजनिक गरेको छ । प्रतियोगितामा प्रदेशका १३ वटै जिल्लाको सहभागिता रहनेछ ।

छनोट प्रतियोगितामा कराते, तेक्वान्दो, उसु, भलिबल, कबड्डी र एथलेटिक्स गरी ६ खेल समावेश छ ।

जिल्लास्तरीय छनोट यसअघि नै सम्पन्न भइसकेको छ । परिषद्का सदस्यसचिव दीपक लामाले ६ खेलबाट उत्कृष्ट १११ खेलाडीको छनोट गरिने बताए ।

प्रतियोगिताको उद्घाटन दशरथ रंगशाला र समापन जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्नेछन् ।

सदस्यसचिव लामाका अनुसार, नगरस्तरीय छनोटदेखि जिल्ला, प्रदेश तथा मुख्य प्रतियोगितासम्मका लागि प्रदेशले तीन करोड ९७ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ ।

बागमती राष्ट्रपति रनिङ शिल्डको साविक विजेता पनि हो । बागमतीले यसअघि ३६ स्वर्ण, ११ रजत र सात कांस्य पदक जित्दै उपाधि रक्षा गरेको थियो ।

प्रदेशले खेलकुद क्षेत्रमा महत्वपूर्ण परिवर्तन गर्ने योजना पनि बनाइरहेको छ ।

पत्रकार सम्मेलनमा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवि महर्जन, सुनिता गौतम र अञ्जना शिवाकोटीको उपस्थिति थियो ।

Published : Sunday, 2026 May 24, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया