कांग्रेस कमजोर र फुटाउँदा मातृकाको जे हालत भएको थियो त्यस्तै हुनेछ गगनको अवस्था : केदार कार्की
धनगढी । नेपाली कांग्रेसका नेता केदार कार्कीले गगनकुमार थापाको अवस्था मातृकाप्रसाद कोइरालाको जस्तै हुने चेतावनी दिएका छन् ।
आइतबार कैलालीको धनगढीमा नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले आयोजना गरेको नेपाली कांग्रेसको बृहत एकता र पुनर्जागरणका लागि सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै कार्कीले तत्कालीन समयमा मातृकाप्रसाद कोइरालाले कांग्रेसलाई कमजोर बनाउन र फुटाउने गतिविधि गरेका कारण उनको तस्बिरलाई अहिले पनि कांग्रेसको कार्यक्रममा नराख्ने गरिएको बताए । उनले गगन थापाको अवस्था पनि मातृकाप्रसाद कोइरालाकै जस्तो हुने चेतावनी दिए ।
‘कार्यकर्तालाई जिस्काउँदा, कार्यकर्तालाई चलाउँदा मातृकाप्रसाद कोइरालाको के हालत भयो ? अहिले फोटो पनि राख्दैनौं हामीले । वीपी कोइराला प्रधानमन्त्री हुँदाहुँदै जेल रोजेको ईतिहास हो कांग्रेसको,’ नेता कार्कीले भने ।
उनले क्रियाशील सदस्यता अध्यावधि नहुने बताए । कठिन अवस्थामा गाउँमा बनाइएको क्रियाशील सदस्यतालाई अध्यावधिका नाममा पार्टी छोड भन्न नपाइने बताए । नेता कार्कीले भने, ‘मैले नेपाली कांग्रेसमा भोट हालेको थिएँ । फेरि पनि भोट हाल्छु भनेर कशम खानुस् भन्नुभएको छ । तपाईले भोट हाल्नु भएको थियो भनेर विशेष महाधिवेशनको सभापतिले भन्नुभयो ।’
गगन थापाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जन्म भएको र झण्डै दुईतिहाइ बहुमत आएको नेता कार्कीको संकेत थियो । ‘घण्टीको जन्म कसरी भयो ? भनेर सोधियो भने मुकुल ढकालको प्रतिवेदन पढ्यो भने देखिन्छ । कार्यकर्ता र क्रियाशील सदस्यहरूले जवाफ खोजे भने तपाईसँग जवाफ छ ?,’ नेता कार्कीले गगन थापासँग प्रश्न गरेका छन् ।
‘कांग्रेसका साथीहरूले, वडामा बसेका वडा सभापतिहरूले मलामी गइदिएर छोराछोरीलाई भात पस्किदापस्किदै पुलिसकोमा गइदिएर, सीडीओकोमा गइदिएर, अरुको विवाह भोजमा गइदिएर सहयोग गरिदिएर बनाएको कांग्रेस, बनाएको क्रियाशील सदस्यलाई धम्की दिने शहरबाट आएर ? कहिले काहीँ लोकल खान मन लाग्दाखेरी सदरमुकाममा आउने सोझासादा क्रियाशीललाई भत्काउने, कांग्रेस सक्ने ? जरा अभियानका नाममा गैती र कैची लिएर जरा खोतलेर कांग्रेसको जरा काटेर कांग्रेस बलियो हुँदैन,’ नेता कार्कीले भने ।
सुदूरपश्चिमस्तरीय भेलाको बचाउ गर्दै उनले भने, ‘यो गुटको भेला होइन । नेपाली कांग्रेसको आधिकारिक भेला हो । कसैले कांग्रेस छोड भनेर छाड्दैनौँ । हामी संघर्ष गर्छौ । कांग्रेसलाई बचाउँछौँ ।’
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया