गगन थापाका कारण कांग्रेस कमजोर भयो, अध्यावधि नगर्ने, सुदूरपश्चिमले देखायो शक्ति
धनगढी । शेरबहादुर देउवा पक्षीय नेताहरूको भेलाले नेपाली कांग्रेसलाई गगन थापाले कमजोर बनाएर विभाजनतर्फ लगेको भन्दै क्रियाशील सदस्यता अध्यावधि आवश्यक नरहेको निकालेको छ ।
आइतबार कैलालीको धनगढीमा नेपाली कांग्रेसको बृहत्तर एकता र पुनर्जागरणका लागि नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय भेलाका सहभागी नेताहरूले गगन थापाले नेता तथा कार्यकर्ताहरूलाई भ्रममा राखेर पार्टी कमजोर बनाउँदै लगेको बताए । उनीहरूले पार्टीभित्र सबै धारका नेताहरूलाई जिम्मेवारी र भूमिका दिनुपर्ने बताएका छन् । भेलाले ११ बुँदाको निर्णयहरू गर्दै १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा फेरि अध्यावधिका नाममा आवश्यक नरहेको र अध्यावधि नगर्ने निष्कर्ष निकालेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरले कांग्रेस एकताको आधार १५औँ महाधिवेशन भएको बताएका छन् । महाधिवेशनबाट देउवा समूहका नेताहरूलाई पनि सम्मानजनक भूमिका दिन आवश्यक रहेको बलायरले बताएका छन् । पार्टीको शक्ति वडा तहबाट आउने बताउँदै बलायरले वडा सभापतिहरूको निर्णयलाई बेवास्ता गरेर पार्टीको जरा कमजोर पारिएको बताएका छन् ।
सभापति बलायरले आफूहरू पदका लागि होइन, अर्थपूर्ण भूमिकाका लागि लडिरहेको बताए । नेताहरूको अपमान हुने कुनै पनि सम्झौता स्वीकार्य नहुने भन्दै सभापति बलायरले पार्टी एकताको जिम्मेवारी गगन थापाकै काँधमा रहेको बताए । सामाजिक सञ्जालमार्फत होच्याउने काम गर्नेहरूको गतिविधि सार्वजनिक गर्ने उनले चेतावनीसमेत दिएका छन् ।
सभापति बलायरले व्यक्तिको अहँकारका आधारमा कांग्रेस नचल्ने बताए । आफूहरू देउवाको राजनीतिक प्रेरणाबाट पार्टीमा लागेको उल्लेख गर्दै उनले पार्टी सदस्यता नवीकरण र लेबी प्रणालीप्रति असहमति जनाएका छन् । पार्टीको निर्देशन र मापदण्ड नमान्नेहरूलाई कारबाही गर्ने चेतावनी दिँदै बलायरले पार्टीको जरा उखेल्ने प्रयास सह्य नहुने चेतावनी दिएका छन् ।
भेलाले पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गरेको छ । प्रदेशका नौ वटा जिल्लाबाट सहभागी नेता तथा कार्यकर्ताबीच भएको छलफलपछि विभिन्न निष्कर्ष निकालिएको छ ।
भेलाले नेपाली कांग्रेस हाल ईतिहासकै जटिल अवस्थाबाट गुज्रिरहेको निष्कर्ष निकालेको छ । कथित विशेष महाधिवेशनपछि पार्टी एकतामा देखिएको कमजोरी, आन्तरिक समन्वयको अभाव र त्यसले निर्वाचन परिणाममा पारेको असरबारे आत्मसमीक्षा आवश्यक रहेको बताइएको छ । आगामी १५औँ महाधिवेशनलाई निष्पक्ष, विश्वसनीय र एकतामुखी बनाउन केन्द्रीय तहमा समन्वय गरी तटस्थ निर्वाचन समिति गठन गर्नुपर्ने भेलाको निर्णय रहेको छ ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पार्टी नेतृत्वप्रति जनविश्वास कमजोर भएको भेलाको ठहर छ । कथित विशेष महाधिवेशनबाट आएको नेतृत्वले अपेक्षित परिणाम दिन नसकेको भन्दै भेलाले गम्भीर समीक्षा आवश्यक रहेको निष्कर्ष निकालेको छ । १५औँ महाधिवेशनलाई पार्टी पुनर्गठन, एकता र वैचारिक स्पष्टताको अवसरका रूपमा उपयोग गर्नुपर्ने भेलाको निष्कर्ष छ ।
भेलामा पार्टीको ईतिहास, लोकतान्त्रिक आन्दोलनमा दिएको योगदान र वर्तमान अवस्थाबारे पनि समीक्षा भएको छ । फरक विचार राख्ने नेता तथा कार्यकर्तामाथि विभेद होइन, संवाद र सहकार्यको वातावरण निर्माण गर्दै पार्टीलाई जनआधारित र सशक्त बनाउनुपर्ने आवश्यकता भेलाले निष्कर्ष निकालेको छ ।
संविधान, लोकतन्त्र, सुशासन र वर्तमान सरकारको कामकारबाहीबारे समेत भेलाले चासो व्यक्त गरेको छ । सरकारबाट सार्वजनिक सम्पत्तिको विवरण अपारदर्शी रहेको, संसदको भूमिकालाई कमजोर पारिएको र न्यायपालिकालगायत स्वतन्त्र निकायमाथि हस्तक्षेप देखिएको भन्दै लोकतान्त्रिक मूल्य मान्यताअनुसार शासन सञ्चालन गर्न आग्रह गरिएको छ । महँगी, मलको अभाव, बेरोजगारी र भ्रष्टाचारले नागरिक प्रभावित भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ ।
पार्टी संगठनतर्फ, १४औँ महाधिवेशनबाट निर्वाचित संरचनामार्फत सदस्यता नवीकरण सम्पन्न भइसकेकाले पुनः अनावश्यक प्रक्रिया नगरी संगठन सुदृढीकरण, प्रशिक्षण र कार्यकर्ता परिचालनमा ध्यान दिनुपर्ने निष्कर्ष निकालिएको छ । प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न पार्टी नेतृत्वलाई आग्रह गरिएको छ ।
देउवा पक्षीय नेताहरूको सुदूरपश्चिम प्रदेशस्तरीय भेलाले पार्टीभित्र लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित पदाधिकारीको जिम्मेवारी खोस्ने कार्य अस्वीकार्य भएको स्पष्ट पारेको छ । विचारको असहमति संवाद र विधानअनुसार समाधान गर्नुपर्नेमा जोड दिँदै बलपूर्वक निर्णय लाद्न नहुने बताइएको छ ।
भेलाले बाजुरा जिल्लाको रानीसैन क्षेत्रको विषयमा तत्काल तथ्यगत अध्ययन, समन्वय र निर्णय गरी स्थानीय जनतामा राज्यको उपस्थितिको अनुभूति गराउन पहल गर्न माग गरिएको छ ।
भेलामा नेताहरू एनपी साउद, रमेश लेखक, नैनसिंह महर, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शिवराज भट्ट, सामाजिक विकासमन्त्री मेघराज खड्का, राष्ट्रिय सभा सदस्य नारायणदत्त भट्ट, खम्मबहादुर खाती, धनगढीका पूर्वमेयर नृपबहादुर वड लगायत देउवा पक्षधर नेता तथा नौ वटै जिल्लाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो । भेलाको प्रमुख अतिथि एनपी साउद रहेका थिए ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया