शिखा एकेडेमीले जित्यो राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

कोहलपुर । बाँके, कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार शिखा एकेडेमी र नेपालगञ्ज स्वीमिङ क्लबले कोहलपुरमा आयोजना गरेको दोस्रो शिखा स्कुलस्तरीय राष्ट्रिय पौडी प्रतियोगितामा १३४ अंक ल्याएर शिखा स्कुलले उपाधि जितेको हो ।

प्रतियोगितामा लिटिल एञ्जल्स स्कुल ललितपुर १०१ अंक ल्याएर दोस्रो र १९ अंक ल्याएर बागेश्वरी एकेडेमी कोहलपुर तेस्रो, ८ अंक ल्याएर सोफिया रेसिडेन्सियल स्कुल नेपालगञ्ज चौथो र ५ अंक ल्याएर लुम्बिनी वल्र्ड स्कुल रुपन्देही पाँचौं भएको पौडी प्राविधिक चन्द्रराम चौधरीले जानकारी दिए ।

प्रतियोगितामा लिटिल एञ्जल्स स्कुलबाट ६÷६ वटा स्वर्ण पदक जितेर छात्र विभुषण शाक्य र छात्रा लुनिरा शाक्य सर्वोत्कृष्ट खेलाडी घोषणा भए । प्रतियोगितामा देशभरिका २४ वटा विद्यालयका १०२ जना विद्यार्थीले भाग लिएका थिए ।

आयोजक शिखा एकेडेमीका प्रतियोगिता संयोजक सूर्यमणि अधिकारीले अघिल्लो वर्ष जिल्लास्तरीय प्रतियोगिता आयोजना गरेको अर्को वर्ष नै राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

नेपालगञ्ज स्वीमिङ क्लबका अध्यक्ष केशवराज न्यौपानेले आगामी कार्तिक महिनामा अन्तर्राष्ट्रियस्तरको पौडी प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन् ।

यसअघि, कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले बिहान प्रतियोगिताको उद्घाटन गरेकी थिइन् । उपप्रमुख सुवेदीले कोहलपुर नगर क्षेत्रमा विद्यालयले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलाप अन्तर्गत खेलका प्रतियोगिताहरू आयोजना गरेर नगरलाई देशभर चिनाउने काम गरिरहेको भन्दै खुसी व्यक्त गरेकी छिन् ।

Published : Saturday, 2026 May 9, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया