पत्नीलाई संसदीय दलको नेता, पतिलाई प्रतिष्ठानको उपप्रमुख, कांग्रेसमा काभ्रेली दम्पतीको मोजमस्ती
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको उपप्रमुखमा मधु आचार्यलाई चयन गरिएको छ ।
बुधबार पार्टी कार्यालय, सानेपामा बसेको बैठकबाट प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले आचार्यलाई उपप्रमुख चयन गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रतिष्ठानका प्रमुखले प्रस्ताव गर्नु भएपछि बैठकले उपप्रमुख पदमा श्री मधु आचार्यलाई चयन गरेको छ ।’
फागुन २१ को प्रतिनिधि सभाका निर्वाचनमा काभ्रेपलाञ्चोकबाट पराजित भएका आचार्यलाई दुई महिनाभित्र उपप्रमुख पद हात परेको छ । आचार्य निकै भाग्यमानि नेतामा पर्छन् । काभ्रेली दम्पतीको कांग्रेसमा हालिमुहाली र मोजमस्ती रहेको भन्दै कांग्रेसका नेता तथा कार्यकर्ताहरूले कुरा काट्न थालेका छन् ।
केही दिन अगाडि राष्ट्रिय सभाको संसदीय दलको नेतामा आफ्नी पत्नी कमलादेवी पन्तलाई मनोनयन गराएका छन् । राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्णप्रसाद सिटौलालाई हटाउन लगाएर आचार्यले आफ्नी पत्नी कमला पन्तलाई दलको नेता बनाउन सफल भएका छन् ।
प्रतिनिधि सभामा पटक पटक अवसर पाएकी र पटक पटक मन्त्री बनेकी पन्तलाई आचार्यले संसदीय दलको नेता बनाएका छन् । मधु आचार्य कथित विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वको कार्यसमितिको केन्द्रीय सदस्य पनि छन् ।
कमलादेवी पन्त र मधु आचार्य दम्पती कांग्रेसभित्र सबैभन्दा धेरै अवसर पाउने नेताहरूमा पर्छन् । तैपनि सबैभन्दा धेरै असन्तुष्ट नेतामा कमला र मधु पर्छन् । कांग्रेसमा अरु कोही नेता नभएर पटक पटक अवसर पाएका मधु आचार्य र कमलादेवी पन्तलाई नै किन कांग्रेसको पदहरू दिएको भनेर प्रश्न उठेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया