मनीषलाई तरुण दलको ‘टीके’ अध्यक्ष बनाउने तयारी, दिल समूहको समानान्तर कार्यसमिति आउने

काठमाडौं । भृकुटीमण्डप भेला अर्थात् कथित महाधिवेशनबाट नेपाली कांग्रेस हाइज्याक गरेको नेतृत्वले भ्रातृ संस्थाहरू विघठन गरेर ‘टीके’ तदर्थ समिति बनाउन लागेको छ ।

निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत कानूनी मान्यता दिएपछि भृकुटीमण्डपको कथित् विशेष महाधिवेशन पक्षधरहरूले भ्रातृ संस्थाहरूको तदर्थ समिति गठनको तयारी गरिरहेका छन् । सबैलाई मिलाएर तदर्थ समितिहरू गठन भएन भने नेपाली कांग्रेसलाई माया गर्ने युवा नेताहरूले समानान्तर कार्यसमिति निर्माण गर्ने चेतावनी दिएका छन् ।

नेपाल तरुण दलका निवर्तमान केन्द्रीय सदस्य दिल लामाले भ्रातृ संस्थाहरूलाई अधिवेशन गर्न दिनुपर्ने बताउँदै अब बन्ने तदर्थ समितिले सबैलाई समेट्न नसके समानान्तर कार्यसमिति बनाउने चेतावनी दिएका छन् । उनले भने, ‘म आफू पनि नेपाल तरुण दलको अध्यक्ष पदका लागि आकांक्षी हुँ । महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारीको तयारी गरिरहेको छु । अब बन्ने तदर्थ समितिले सबै पक्षलाई समेट्न सकेन भने म आफैले तरुण दलको समानान्तर कार्यसमिति बनाउँछु ।’

नेता लामाले कांग्रेस कमजोर अवस्थामा रहेको बताउँदै यस्तो अवस्थामा सबै पक्षलाई समेटेर सानेपाले गतिविधि गर्नुपर्ने बताएका छन् । उनले आवश्यक पर्दा समानान्तर गतिविधि गरेर अगाडि बढ्न आफू तयार रहेको बताए ।

विशेष महाधिवेशन पक्षधरहरूले मनीष कोइरालालाई नेपाल तरुण दलको अध्यक्ष बनाउन लागेका छन् । मनीष कोइराला माइती नेपालकी संस्थापक अनुराधा कोइरालाका छोरा हुन् । काठमाडौंमा विभिन्न व्यवसाय गर्दै आएका मनीषले तरुण दलको अध्यक्ष बन्न दौडधुप गरिरहेका तरुण नेताहरूले बताएका छन् ।

Published : Wednesday, 2026 May 6, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया