इन्द्र बानियाँप्रति सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन भएन, निष्पक्ष छानविन होस् : बागमती कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले सम्पत्ति शुद्धीकरण विभागले मुख्यमन्त्री एवम् दलका नेता इन्द्रबहादुर बानियाँप्रति सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा आवद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार ललितपुरको जावलाखेलमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री एवम् दलका नेता बानियाँमाथि लगाइएको आरोपको संवैधानिक र कानूनी दायरामा रहेर निष्पक्ष, न्यायोचितरुपमा छानविन गर्न आग्रह गरेको छ ।

बागमती कांग्रेस संसदीय दलका सचिव एवम् पूर्वमन्त्री मीनकृष्ण महर्जनले भने, ‘नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँप्रति सम्पति शुद्धीकरण अनुसन्धान विभागले सामान्य सूचना र संवैधानिक प्रक्रिया अवलम्बन नगरी निजी निवास र विगतमा उहाँ आवद्ध कार्यालयमा गरिएको छापामार शैलीको अनुसन्धान कार्यप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दलका नेतामाथि लगाईएको आरोपको संवैधानिक र कानूनी दायरामा रहेर निष्पक्ष, न्यायोचितरुपमा छानविन गर्न आग्रह गर्ने निर्णय भएको छ ।’

सोमबार विभागले मुख्यमन्त्री बानियाँको हेटौँडा र काठमाडौं तथा विगतमा उनी आबद्ध रहेको बानियाँ निर्माण सेवाको कार्यालयमा छापामारेको थियो ।

कांग्रेसले आगामी बजेटको तयारी गर्ने निर्णय गर्दै भौगोलिक अवस्थालाई आधार बनाएर योजना छनौट गरिने निर्णय गरेको छ ।

‘बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ को लागि आयोजना छनोट गर्दा प्रदेशसभा सदस्यहरूको माग, भौगोलिकताको अवस्थालाई आधार बनाएर छनोट गरिने निर्णय भएको छ,’ सचिव महर्जनद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

Published : Tuesday, 2026 May 5, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया