बुद्धिचाल प्रतियोगितामा शीर्ष स्थानमा पुगे तीन खेलाडी
काठमाडौं । क्षेत्रपाटी क्लबका संस्थापक अध्यक्ष स्व.रामहरि कृष्ण मानान्धरको सम्झनामा तेस्रो रापिड राष्ट्रिय चेस शुभारम्भ भएको छ ।
बुधबार काठमाडौंमा नेपाल बुद्धिचाल महासंघको नियमित राष्ट्रिय प्रतियोगितामध्येको रापिड चेसमा पुरुष तथा महिला दुबैतर्फ पाँच÷पाँच चरणको खेल सञ्चालन भएका छन् ।
प्रतिस्पर्धामा महिलातर्फ कूल ७ चरणको खेलमध्ये सम्पन्न ५ चरणसम्मको स्पर्धामा झापाका कृतिसरा अधिकारीले सबै खेल जितेर पूर्ण ५ अंक जोड्न सफल भएका छन् ।
रापिड राष्ट्रिय महिला च्याम्पियन बन्ने दाउमा रहेकी कृतिसराले क्रमशः दोलखाका निहाना श्रेष्ठ, खोटाङका कुशुम धिसिङ, काठमाडौंका विनिता कपाली, मोरङकी शान्ति धिमाल र काठमाडौंकी राधिका पौडेलमाथि जीत दर्ता गरेका हुन् ।
स्पर्धामा कृतिसरासँग पराजित काठमाडौंका विनिता कपालीले खेलमा कमब्याक गर्दै ४ अंक कट प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोश्रो स्थान ओगट्न सफल बनेका छन् । समान ४ अंक बनाएर दोलखाका निहाना श्रेष्ठ तेस्रो स्थानमा उभिएका छन् ।
युवा खेलाडी द्वय नेपालगञ्जका ईशा गिरी र काठमाडौंकी राधिका पौडेल समान ३.५ अंक सहित चौथो र पाँचौँ स्थान सुरक्षित गरेका छन् ।
पुरुषतर्फ हेटौँडाका एफएम क्षितिज भण्डारी, दोलखाका आशिष फूयाँल र काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल समान ५ अंक जोडेर संयुक्त रुपमा अग्रस्थानमा बसेका छन् ।
शीर्ष खेलाडी एफएम रुपेश जैसवालले दोश्रो खेलमा ब्रण्डर गरेपछि पहिलो स्थान हत्याउन यी तीन खेलाडीहरू कडा प्रतिस्पर्धामा छन् ।
खेलमा प्रतीक सुवेदी ३.५ अंक जोडेर एकल द्वितीय स्थानमा छन् । १२ जना प्रतिस्पर्धीहरू ४ अंक बनाउँदै सम्भावना जगाइ राखेका छन् । पुरुषतर्फ ९ चरणको खेल हुनेछ ।
यसअघि, काठमाडौं महानगरपालिका १७ का वडाध्यक्ष एवं प्रवक्ता नवीन मानन्धरले कार्यक्रमको उद्घाटन गरेका थिए ।
काठमाडौं महानगरपालिका नागरिकको आवश्यकतामा साथ रहँदै आएको स्मरण गर्दै खेलकुदसँग अझ बढि प्रगाढ बनेको जिकिर गरेका छन् ।
समारोहमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले प्रत्येक वर्ष राष्ट्रिय खेलको आयोजना गर्दै यसलाई निरन्तरता दिएको बताए ।
क्षेत्रपाटी क्लबको वार्षिक उत्सव अवरसरमा संयोजक एवं क्लबका अध्यक्ष गोपाल मालीले विजेता खेलाडीहरुलाई नगद रु. ३ लाख पुरस्कार प्रदान गरिने बताए ।
उनले पुरुष खुल्लातर्फ प्रथम हुनेले रु. ३५ हजार, द्वितीयले रु. २५ हजार तथा तृतीयले १५ हजार र महिलातर्फ प्रथम हुनेले १० हजार, द्वितीयले ७ हजार तथा तृतीयले ५ हजार पुरस्कार प्राप्त गर्ने बताए ।
प्रमुख निर्णायक एफए सोराज ताम्राकारले राष्ट्रिय रापिड तथा ब्लिट्ज बुद्घिचाल प्रतिस्पर्धामा १६४ जना सहभागिताबीच बिहीवार थप खेल सञ्चालन हुने जानकारी गाएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया