धोबीघाटमा बद्रीलाल शुभजन्मोत्सव चेस शुरु

धोबीघाट । ललितपुरको धोबीघाटस्थित आइडल मोडल स्कुलमा शुरु भएको बद्रीलाल नेपाली जन्मोत्सव फिडे ¥यापिड रेटिङ चेस प्रतियोगितामा १५० जना राष्ट्रिय खेलाडीहरूले सहभागिता जनाएका छन् ।

तीन पटकका राष्ट्रिय विजेताको ६४औं जन्मदिन अवसर पारेर आयोजना गरिएको राष्ट्रिय चेस प्रतियोगितामा सिएम शुश्रुत दाहालले लगातार उत्कृष्ट प्रदर्शन गर्दै ५ अंकसहित शीर्ष स्थानमा रहन सफल भएका छन् ।

जारी ५ चरणको खेलवाट समान पूर्ण ५ अंक जोडेर एफएम क्षितिज भण्डारीले संयुक्त अग्रता कायम गर्दै शीर्ष तीनको सम्भावित पुरस्कार क्रमशः २० हजार, १५ हजार, १० हजार नगद हात पार्ने दाउमा रहेका छन् ।

४.५ अंक बनाउँदै आशिष फुँयाल, रिशोन थापा, निकेन कुसाथा र पूर्णराज खड्का शीर्ष द्वितीय स्थानमा रहँदै प्रतिस्पर्धामा रहेका छन् ।

४ अंक जोड्ने खेलाडीहरूमा सिएम पुरुषोत्तम सिलवाल, मुहान नरसिंह श्रेष्ठ, पूण्यमान कर्मचार्य, धिरेन राई, प्रेम खड्का, राजन पुरी, सिएम केशब श्रेष्ठ, सविनचन्द्र घिमिरे, सुशील चौधरी, गणेशमान दुवाल, गणेशबहादुर थापा, सन्तोष गौतम, कृष्णकुमार खाण र सुशील सुवेदी संयुक्त तेस्रो स्थानमा रहन सफल भएका छन् ।

बागमती प्रदेश सभाका सदस्य रामकृष्ण चित्रकार तथा स्कूलका प्रधानअध्यापक बिराज क्षेत्रीले संयुक्तरूपमा आरम्भ गरेको खेल ९ राउन्डको स्विस प्रणालीमा सञ्चालन भइरहेको छ ।

आयोजक थापाथली चेस पार्कका अध्यक्ष सानुराज बज्राचार्यले कूल १ लाख ५१ हजार नगद पुरस्कार राशी रहेको यस प्रतियोगितामा उत्कृष्ट ३१ खेलाडीहरूलाई पुरस्कृत गरिने जनाकारी गराएका छन् ।

प्रमुख निर्णायक आइए ज्ञानेन्द्र खइजुका अनुसार प्रत्येक चालका लागि १० मिनेट १० सेकेन्ड समय निर्धारण गरिएको छ ।

नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जन, एफए सोराज ताम्राकार, एनए असुन राजकर्णिकार, एनए विज्ञानको उपस्थितिमा प्रतियोगिताको छैटौँ चरण शनिबार बिहान १० बजेबाट शुरु हुनेछ । सोही दिन दिउँसो ३ बजे पुरस्कार वितरण कार्यक्रम तय गरिएको छ ।

Published : Friday, 2026 March 27, 9:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया