अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो

क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

गगन र विश्वप्रकाशसँगको अपेक्षा
भदौ २३ मा ससाना नानीहरू मारिँदा असाध्यै पीडामा भएकी मेरो ८२ वर्षीय आमाले फागुन २१ को विहानै भोट हाल्न मतदान केन्द्रतर्फ जाँदा भन्नुभो-गगनप्रति विश्वास भएर फेरि रूखमै हाल्दैछु भोट । (मन परिवर्तन भए पनि मत परिवर्तन गर्नुभएन आमाले ।) तर, परिणाम सोचेजस्तो आएन । नेपाली कांग्रेसलाई सुधार्ने भनेर अभियान सुरु गरेका मेरा दुबै मित्रहरू गगन थापा र विश्वप्रकाशकै नेतृत्वले नेपाली कांग्रेसलाई फेरि उठ्न पनि नसक्ने गरी पछारिदियो।

विगतमा नेपाली कांग्रेस देउबाका तमाम कमीकमजोरीका बाबजूद पनि ठूलो पार्टी थियो र पार्टीबाट अपमानित हुँदै गर्दा पनि राष्ट्रिय सभामा ठूलो दल, प्रदेश र स्थानीय निकायमा प्रमुख दलको रूपमा स्थापित थियो । आज भ्रष्टाचार, नातावाद र अलोकप्रियतामा चुर्लुम्म डुबेका देउबा एन्ड कम्पनीलाई वहिष्करण गर्दा र सामाजिक संजालमा लोकप्रियता हाँसिल गरेका गगन र विश्वलाई नेतृत्वमा ल्याउँदा इतिहासमै नेपाली कांग्रेस सबैभन्दा कमजोर र गन्तव्यहीन पार्टीमा परिणत भएको छ ।

विश्वप्रकाश भन्थे हामी १६५ वटै सिटमा लडेर देखाउँछौँ अब गठबन्धन हुँदैन । हो नै भयो पनि तर, नतिजा स्वयं सभापति लज्जास्पद हार व्यहोरे, विश्वकै क्षेत्रमा लज्जास्पद हार व्यहोर्नु पर्‍यो । त्यतिमात्र हैन प्रत्यक्ष र समानुपातिक गरेर ८९ सीट हाँसिल गरेको नेपाली कांग्रेस आज बत्ती बालेर खोज्नु पर्ने अवस्थामा आइपुगेको छ । यो हारमा शेरबहादुर देउबा एन्ड कम्पनीको अलोकप्रियता, चरम भ्रष्टाचार कारक त छँदैछ गगन र विश्वको अदुरदर्शिता र असक्षम नेतृत्व पनि उत्तिक्कै कारक हो भन्न हिचकिचाउनु पर्दैन ।

निर्वाचन भैसकेको छ र राष्ट्रिय स्वतन्त्र पार्टीले भूस्खलन विजय (Landslide Victory) प्राप्त गरिसकेको अवस्थालाई मध्यनजर गर्दै मेरा यी दुबै मित्रहरूलाई नैतिकताको आधारमा राजीनामा दिएर नयाँ नेतृत्वको लागि मार्ग प्रशस्त गर्न अनुरोध छ मेरो । तपाईहरूले नै नैतिकता देखाउनु भएन भने ती असक्षम भनिएका देउबाहरूबाट के अपेक्षा गर्न सकिन्छ र ।

वि.सं. १९९७ को चार शहीदको जगमा वीपी कोइरालाले २००३ मा स्थापना गरेको नेपाली कांग्रेसलाई विशेष अधिवेशनमा वन्दी बनाएर महाधिवेशन नरोकौँ । तपाईँहरूले मार्ग प्रशस्त गरिदिएर अधिवेशनमार्फत नयाँ नीति नयाँ उत्साह र नयाँ जोशका साथ अगाडि बढाउन तपाईहरूकै सक्रिय सहभागितामा मात्र संभव हुन्छ भन्ने मलाई लाग्छ ।

आगे तपाईहरूकै मर्जी ।

Published : Monday, 2026 March 9, 12:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया