एनआरएन नागरिकता कार्यान्वयनको माग गर्दै पूर्वअध्यक्ष आचार्यले बुझाए सुशीला सरकारलाई ज्ञापन पत्र
लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए आइसीसी)का पूर्व अध्यक्ष कुल आचार्यले एनआरएन नागरिकताको कार्यान्वयन तथा एनआरएन कार्ड वितरण प्रक्रिया सहज बनाउन माग गर्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र पठाएका छन् ।
शुक्रवार लन्डनस्थित नेपाली दूतावासमा पूर्वअध्यक्ष आचार्यले बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा आचार्यले नेपालको संविधान २०७२ ले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरूको योगदानको कदर गर्दै गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको व्यवस्था गरेको तर, एनआरएन नागरिकता वितरण भई सकेर झन्डै अढाई वर्ष हुँदा पनि कानून बन्न नसकेकाले उक्त नागरिकताको अझै कार्यान्वयन हुन नसकेको बताए ।
‘मालपोतले पनि नचिन्ने, अध्यागमनले पनि नचिन्ने उक्त नागरिकता कागजको खोस्टो बन्न पुगेको छ,’ आचार्यले भने, ‘यसबाट नेपालले प्रतिदिन ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ ।’
उनले नेपाल सरकारले प्रदान गर्दै आएको गैर आवासीय नेपाली परिचयपत्र (एनआरएन कार्ड)को वितरण प्रक्रियालाई सहज गर्नु पर्नेमा परराष्ट्र मन्त्रालयको हालैको निर्देशनपछि उक्त प्रक्रिया थप झन्झटिलो बनेको पनि उल्लेख गरेका छन् ।
‘विदेशस्थित नेपाली दूतावासहरूबाट एनआरएन कार्ड बनाउन आवेदन दिँदा नेपाली नागरिकता त्यागेको प्रमाण पेस गर्नु पर्ने लगायतका बाध्यकारी प्रावधानहरूले उक्त प्रक्रिया विगतको तुलनामा निकै जटिल बन्न पुगेको छ,’ आचार्यले भने ।
‘विगतमा मैले सजिलैसँग एनआरएन कार्ड लिएको र २८ असोज २०८० मा एनआरएन नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति भएकाले पनि यो झन्झटिलो प्रक्रिया अन्त्य गरी सहज बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिनु हुन विनम्र अनुरोध गर्दछु,’ आचार्यले भने ।
‘मुलुक निर्वाचनमा होमिएको बेला एनआरएन नागरिकता र एनआरएन कार्ड प्रदान गर्ने व्यवस्था सहज बनाइ दिनु भएमा यसले संसारभरि रहेका गैर आवासीय नेपाली समुदायमा अत्यन्तै सकारात्मक सन्देश दिने ब्यहोरा अनुरोध गर्दछु,’ आचार्यले ज्ञापन पत्रमा भने ।
उनले भने, ‘हाम्रा छिमेकी अन्य दक्षिण एसियाली मुलुकहरूले आफ्नो डायस्पोरालाई एउटा श्रोतको रूपमा हेर्ने गरेका छन् । ती मुलुकहरूको डायस्पोरासम्बन्धी नीतिको पनि अध्ययन गरी नेपालको नीति परिमार्जन गर्न आवश्यक भई सकेको छ ।’
‘त्यसैले महाभूकम्प जाँदा होस् वा कोभिड महामारीको बेला मातृभूमिको सेवामा सधैँ तत्पर लाखौँ गैर आवासीय नेपाली समुदायका लागि संविधान प्रदत्त गैर आवासीय नेपाली (एनआरएन) नागरिकताको शीघ्र कार्यान्वयन तथा एनआरएन कार्ड बनाउने प्रक्रिया सहज बनाएर नेपालसँग जोडिने अवसर दिनु हुन पनि आग्रह गर्दछु,’ एनआरएनएका पूर्वअध्यक्ष आचार्यले बुझाएको ज्ञापन पत्रमा भनिए
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत दुवाडीले ज्ञापन पत्र जति सक्दो चाँडो नेपाल सरकार समक्ष पठाउने बताए ।
दुवाडीले नेपाल र नेपाली जनताको हितमा एनआरएन समुदायले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद पनि दिएका छन् ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया