कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
सोसल मिडिया स्क्रोल गरिरहेको थिएँ, एक्कासि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा–५ का उम्मेदवार बालेनले पौने ८ करोडसम्म मूल्य पर्ने ल्याण्ड रोभरको डिफेन्डर चलाएर घरदैलो गरिरहेको भिडियो देख्न पाइयो ।
मलाई थाहा छैन, यो उनकै गाडी हो वा अरू कसैको । केही महिनाअघि मात्र नेपाल आएको उक्त गाडी अहिले करिब आधा दर्जन धनाड्यहरूको मात्र हातमा छ ।
भिडियो, नियोजित रूपमै खिचिएको जस्तो देखिन्छ । काठमाडौंको मेयर हुँदा त उनले त्यत्रो पैसा कमाएनन् होला । हुनसक्छ कोही शुभेच्छुकले पनि चढ्नुस भनेर दिएको । अथवा आफ्नै हो कि ?
राष्ट्रिय तथ्याङ्क कार्यालयले केही दिनअघि कोशी प्रदेशमा १७.१९ प्रतिशत जनसंख्या गरिब रहेको प्रकाशित गरेको थियो । बालेनले डिफेन्डर लिएर घुमेको त्यही प्रदेशमा हो ।
गरिबी भनेको जीवन निर्वाहका लागि आवश्यक न्यूनतम आवश्यकताहरू (जस्तै खाना, पानी, आवास, लुगाफाटा) पूरा गर्न नसक्ने गरी तोकिएको आम्दानी वा उपभोगको स्तरभन्दा तलको अवस्था हो । कोशीमा त्यो २० प्रतिशत हाराहारीमा रहेछ । झापा जिल्लामा हेर्ने हो भने समग्र कोशीमा भन्दा एकाध प्रतिशत कम छ ।
नेपालमा सन् २०१९ देखि २०२३ सम्म गम्भीर खाद्य असुरक्षामा रहेका मानिस ४० प्रतिशतले बढेका छन् र हाल करिब ३६.६ प्रतिशत नेपाली खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
अर्को तथ्यतिर जाउँ – ८ करोडको गाडी सम्भवतः ओली, प्रचण्ड या देउवा कोही चढेका छैनन् । आफ्नो पैसाले मात्र उनीहरूले नकिनेको होइन, कसैले दान या उपहार पनि दिएका छैनन् ।
यस्तो देशमा एउटा उम्मेदवारले गरेको यत्तिको तामझामको अर्थ के हो ? कि पुरानाहरू सबै ऐश आराममा लिप्त भए, अब नयाँको पालो भन्या हो ? नयाँ पनि नउँम्रदै तीनपात छ । बुझिन मैले, बुझाइदेउ कसैले ।
मैले जति प्रयास गरेपनि नेपालको भविष्य अच्छा देख्न सकिरहेको छैन ।
बालेनले चढेको डिफेन्डर भाग– २
केही घण्टाअघि ‘बालेनलाई कसले दियो ८ करोडको डिफेन्डर ?’ भन्ने विषयमा एउटा स्ट्याटस लेखेको थिएँ । तत्कालै मलाई त्यो नेपाली बजारमा पौने ८ करोड (टप भेरिएन्टको मूल्य) पर्ने डिफेन्डर कसको हो भन्ने जानकारी आयो । गोपनीयताका लागि मैले नाम यहाँ खुलाइन तर, ती धनाढ्य एकजना उद्योगपति रहेछन् ।
उनले हालसालै डिफेन्डर मगाएका रहेछन् । ती, उद्योगपतीले आम भान्सामा रेगुलर प्रयोग हुने जंक फूड उत्पादन गर्ने रहेछन् । त्यो जंक फूडले बच्चाबच्चीको वृद्धि, मानसिक स्वास्थ्य र अन्य कतिपय नकारात्मक असर पार्ने गरेका रिपोर्टहरू बेलाबेलामा सार्वजनिक भइरहेका छन् । कम्तीमा मेरो भान्सामा त्यो छैन ।
बाँकी कुरा अलि पछि गर्छु तर, मेरो पोस्टमा आएका केही कमेन्टहरू यस्ता छन् ।
– तँ खाते सुकुम्बासीले पो त्यो चढ्न सक्दैनस, अर्काको रीस गर्छस ?
– बालेनको पुर्खा धनाढ्य हो, सयौं बिघा जमिन छ, चढ्यो, तलाई केको खसखस ?
– उ इन्जिनियर हो, काठमाडौंमा घर छ, ८/१० करोडको गाडी चढ्न केको समस्या ?
– मैले दिएको हो, तलाई केको चासो ?
ब्ला…ब्ला…
पहिलो प्रश्न के हो भने बालेनले साढे तीन वर्ष काठमाडौं महानगरको मेयर हुँदा एकपटक पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेनन् ।
दोस्रो, भूमिसम्बन्धी हदबन्दीका कारण बालेनको सयौं बिघा जमिन प्राक्टिकल्ली हुन सक्दैन । बाँकी हेर्नै नसकिने कमेन्टहरू त, मानसिक रूपमा विक्षिप्तहरूले नै गरेका हुन् त्यसको चर्चा नगरौं ।
अब तथ्यमा प्रवेश गरौं । बालेनलाई ती धनाड्य तर, विवादास्पद उद्योगपतीले त्यो गाडी चढ्न दिए । किन ? बालेनले प्रधानमन्त्री हुन्छु भनेर घोषणा नै गरेर निर्वाचनमा अझ केपी ओलीको गढमा चुनाव लड्दै छन् । हुन सक्छ, उनी प्रधानमन्त्री हुनेछन्, होउन । जनताले जिताए कसैको केही लाग्दैन ।
मुख्य प्रश्न के हो भने, हिजो १९ जना बच्चाबच्चीको ज्यान राज्यले लिएपछि भएको विद्रोहको म्यान्डेटअनुसार भएको चुनावमा प्रधानमन्त्री बन्ने लक्ष्य लिएका बालेनले आज लाखौँ बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा असर पर्ने गरी जंक फूड उत्पादन गरिरहेका र अहिलेसम्म पुरानो राज्यसत्तालाई प्रभावमा पारेर उम्किरहेका एकजना विवादित धनाड्यले किनेको गाडी किन प्रयोग गरे ?
हिजो जसरी कानूनको दुरुपयोग या गलत कानून बनाएर आम जनताको स्वास्थ्यमाथि खेलवाड भइरहेको थियो, आज पनि त्यो हुने छाँटकाँट त देखियो, हैन र ? अझ, जुन धनाड्यको गाडी हो, तीनले गरेको राजश्व छली त कति हो कति रहेछ । यसबारे विस्तृतमा पछि कुरा गरौंला ।
उनलाई डिफेन्डर चलाउन मन लाग्यो होला, ल चलाउनुस पनि भनियो होला । तर, यसले के सन्देश जान्छ ? पुरानाहरू यस्तै व्याक्तिगत महत्वाकांक्षाका लागि जनताको सेवा गर्ने जिम्मेवारीलाई बिर्सेका होइनन् ? के भदौ २३ गतेको आन्दोलन यस्तै प्रवृत्तिको विरुद्धमा भएको होइन ?
यहाँ सोध्नुपर्ने कुराहरू धेरै छन् । डिफेन्डर एउटा उदाहरण मात्र हो । यहाँ भित्र–भित्र आम जनताविरुद्ध धेरै खेलवाडहरू भइरहेका छन् । मैले मेरो तर्फबाट प्रश्न गर्ने हो, तपाईंहरू यदि चेतनशील हुनुहुन्छ भने तपाईंहरूले पनि आफूले देखे–जानेका कुराहरू सोध्नुहोस् । (सामाजिक सञ्जालबाट साभार)
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया