फाइनलमा लुम्बिनी लायन्सले जित्यो एनपिएल उपाधि

काठमाडौं । लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको प्रतिस्पर्धामा सुदूरपश्चिम रोयल्यमाथि ६ विकेटको सानदार जित निकाल्दै लुम्बिनी दोस्रो सिजनको एनपिएलको च्याम्पियन बनेको हो ।

गत सिजन अंक तालिकाको पुछारमा रहेको र बाहिरिने पहिलो टोली बनेको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि जित्न सफल भएको थियो । यो सिजन पनि लुम्बिनी कुनै समय बाहिरिने संघारमा थियो । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि लुम्बिनी लगातार तीन खेलमा हारेको थियो ।

लुम्बिनीले दोस्रो खेलमा कर्णालीसँग ९ विकेट, तेस्रो खेलमा काठमान्डुसँग २२ रन र चौथो बेलमा सुदूरपश्चिमसँग ७ विकेटको पराजय भोगेको थियो ।

त्यसपछि एक हारले उसको यात्रा सकिने अवस्था थियो । उसले त्यसपछि लिग चरणमा पोखरालाई ३ विकेट, विराटनगरलाई ५ विकेट र जनकपुरलाई ४ विकेटले पराजित गरेर अंक तालिकामा चौथो बनेर प्लेअफमा स्थान बनायो ।

एलिमिनेटमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान बनायो । दोस्रो क्वालिफायरमा पनि उसले विराटनगरलाई ४० रनले हराएर फाइनलमा स्थान बनाएको थियो ।

फाइनलमा पनि सुदूरपश्चिममाथि जित निकालेर उपाधि जितेर एउटा उत्कृष्ट पुनरागमन गरेको लुम्बिनीले लगातार तीन खेलको पराजय पछि लगातार ६ खेलमा जित निकाल्दै उपाधि जित्यो ।

सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो । अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान पक्का गरेको हो ।

सुदूरपश्चिमले लिग चरणमा ६ खेल जितेर शीर्ष स्थान पक्का गरेको थियो । अन्तिम खेलमा विराटनगरसँग पराजित भए पनि सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो ।

सुदूरपश्चिम लगातार दोस्रो सिजन उपविजेतामै सीमित बन्यो । गत सिजन पनि लिग चरणमा उत्कृष्ट खेलेको सुदूरपश्चिम फाइनलमा भने जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

उपाधि जित्ने क्रममा लुम्बिनीले सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य ४ विकेटको क्षतिमा ९ ओभरमा पूरा ग¥यो ।

लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले ४२ रन जोडे । पहिलो ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ४ छक्का प्रहार गरेका अधिकारीले १३ बलमा १ चौका र ५ छक्का प्रहार गरे। आक्रामक सुरुवात गरेको लुम्बिनीले अधिकारीको ब्याटिङमा पहिलो ओभरमै ऐरीविरूद्ध २७ रन जोडेको थियो । उनी पाँचौ ओभरमा हेमन्त धामीको बलमा स्कट कुगेइलिनबाट क्याच भए ।

अर्का ओपरन डार्शी शर्टले धामीबाट बोल्ड हुनुअघि १४ रन बनाए । उनले १३ बलमा ३ चौका प्रहार गरे । उनी दिनेश अधिकारी आउट भएको दुई बलअघि आउट भएका थिए ।

दीपेन्द्रसिंह ऐरीले नवौं ओभरमा दुई विकेट लिएका थिए । उनले लुम्बिनीका कप्तान रोहितकुमार पौडेललाई १६ रन र सन्दीप जोरालाई शून्यमा आउट गरेका थिए । यो विकेटमा सुदूरपश्चिमले खुसी मनाउन सकेन किनकी त्यतिबेला लुम्बिनी जित नजिक पुगिसकेको थियो । बलिङमा हेमन्त र ऐरीले २–२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले खराब ब्याटिङ ग¥यो । जसका कारण सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट हुन बाध्य भयो ।

लगातार विकेट गुमाएको सुदूरपश्चिमविरूद्ध लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक गरे । रोहितको ह्याट्रिकसँगै सुदूरपश्चिम संकटमा परेको थियो ।

रोहितले ११औं ओभरको अन्तिम तीन बलमा ह्याट्रिक गरेका थिए । यो सिजनको दोस्रो ह्याट्रिक हो । यसअघि काठमान्डु गोर्खाजका शाहब आलमले पनि ह्याट्रिक गरेका थिए ।

रोहितले ११औं ओभरको चौथो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीलाई रुबेन ट्रम्पलम्यानबाट क्याच गराए । दीपेन्द्रले २० बलमा १३ रन जोड्न सके ।

पाँचौ बलमा रोहितले दीपक बोहरालाई सन्दीप जोराबाट क्याच गराउँदै डकआउट गरे । छैटौं बलमा पुनित मेहरा रोहितको एलबिडब्लूको धरापमा परे ।

रोहितले ह्याट्रिक गरेसँगै सुदूरपश्चिमले ११ ओभरमा ४४ रन जोड्दा ६ विकेट गुमाएको थियो । यस्तै उसले १४ ओभर चल्दै गर्दा ५० रन पूरा गर्न सकेको थियो ।

लगातार विकेट गुमाएको सुदूरपश्चिमले सातौं विकेट १५औं ओभरमा गुमायो । उसका हर्मित सिंह १० रन बनाएर आउट भए । १५औं ओभरको तेस्रो बलमा शेर मल्ललाई छक्का प्रहार गरेका उनी अर्को बलमा डार्शी शर्टबाट क्याच भए ।

सुदूरपश्चिमका लागि सर्वाधिक रन प्रहार गरेका इशान पाण्डेले ३३ रन बनाउन सके । ओपनिङमा आएका पाण्डेले ५१ बल खेल्दा १ चौका मात्र प्रहार गर्न सके । १७औं ओभरसम्म टिकेका उनी यो ओभरको तेस्रो बलमा आउट भएका थिए । उनलाई लुम्बिनीका शेर मल्लले मोबिन सुभसिंहबाट क्याच गराएका थिए ।

त्यसअघि सुदूरपश्चिम पहिलो ओभरमै ओपनर विनोद भण्डारीलाई गुमाएको थियो । उनी ट्रम्पलम्यानको बलमा दिनेश अधिकारीबाट क्या हुँदा डकआउट भएर पेभिलियन फर्किए । तेस्रो ओभरमा ट्रम्पलम्यानले अर्को विकेट लियो । उनले भारतीय ब्याटर सेल्डन ज्याकसनलाई १ रनमै एलबिडब्लूको धरापमा पारे ।

पावपरप्लेमा तेस्रो विकेट लिने क्रममा लुम्बिनीले आरिफ शेखको पनि विकेट लियो । आरिफलाई पाँचौ ओभरमा शेर मल्लले ६ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारेका थिए ।

अन्तिममा स्कट कुगेइलिन पनि १० रनमै आउट भए । १९औं ओभरमा तिलकाराज भण्डारीको बलमा सन्दीप जोराबाट समातिए । आउट हुनुअघि उनले १ छक्का प्रहार गरे । अन्तिम विकेटको रूपममा अभिनास बोहरालाई १ रन ट्रम्पलम्यानले अन्तिम ओभरको पहिलो बलमा डार्शी शर्टबाट क्याच गराएसँगै सुदूरपश्चिम ८५ रनमै अलआउट हुनु पुग्यो । हेमन्त धामी ७ रनमा नटआउट रहे ।

बलिङमा लुम्बिनीका तीन बलरले ३–३ विकेट लिए । ट्रम्पलम्यान, रोहित र शेर मल्लको नाममा ३–३ विकेट रह्यो । ४–४ ओभरमा बलिङ गर्दा रोहितले १२ रन र शेरले १८ रन खर्चिए । ट्रम्पलम्यानले २.१ ओभरमा ३ रन मात्र दिए । तिलकराज भण्डारीको नाममा १ विकेट रह्यो ।

खेलका लागि लुम्बिनीले जेजे स्मितको स्थानमा मोबिन सुभसिंहलाई खेलाएको छ । सुदूरपश्चिमले दुई परिवर्तन गरेको थियो । मिलन बोहराको स्थानमा दिपक बोहरा तथा मुख्यर अहमदको स्थानमा पुनित मेहरा आएका थिए ।

Published : Saturday, 2025 December 13, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया