अन्तर्राष्ट्रिय तेक्वान्दोमा अमिर भ्लोनलाई स्वर्ण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले सञ्चालन गरेको मिसन २०२६ का पारा तेक्वान्दो खेलाडी अमिर भ्लोनले १३औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् ।

ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा शुक्रबार भएको पारा तेक्वान्दोको के ४४ विद्याको पुरुष ६३ केजीमुनिको तौल समूहमा संखुवासभाका पासाङ्ग शेर्पालाई पराजित गर्दै स्वर्णपदक जितेका हुन् । बाजुराका लोकराज शही ठकुरीले कास्य पदक पाए ।

पुरुष ५४ केजीमुनि चितवनका विवेक श्रेष्ठले पहिलो स्थान हात पारे । उनले फाईनलमा भुटानका टाँशी रिग्देन दोर्जीलाई पराजित गरे । झापाका निश्चल प्रसाईं तेश्रो भए । पुरुष ५८ केजीमुनि पारालिम्पियन भरतसिंह महताले स्वर्ण पदक जिते । उनले फाईनलमा पाकिस्तानका जोन सलिमलाई पराजित गरे ।

पारा तेक्वान्दोको के४१ विधाको पुरुष ५८ केजीमुनि दीपेश महतले स्वर्ण पदक जिते । उनले फाईनलमा भारतका प्रमोद प्रसादलाई पराजित गरे ।

महिला के४४ विधाको ४७ केजीमुनि नुवाकोटकी रेनु तामाङ्ग पहिलो भइन् । उनले फाईनलमा इलामकी कामना प्रसाईलाई पराजित गरिन् । पुम्सेतर्फ पि३० विधामा चितवनका विक्रम श्रेष्ठले सुनसरीका सुवासचन्द्र राईलाई पराजित गरी स्वर्ण पदक हात पारे ।

च्याम्पियनसिप अन्तर्गत पारा तेक्वान्दोमा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीले प्रतिस्पर्धा गरेका प्रतियोगिता संयोजक भानबहादुर चन्दले जानकारी दिए ।

Published : Saturday, 2025 December 6, 4:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया