राप्ती गाउँपालिकाको चरम लापरबाहीविरुद्ध कटाहाका स्थानीयद्वारा प्रदर्शन, केन्द्रमा तालाबन्दी

मसुरिया । दाङको राप्ती गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका विषयमा आलोचनाहरू भइरहेका बेला वडा नं. २ कटाहाका स्थानीयले फोहोर संकलन केन्द्र घेराउ गरेर विरोध जनाएका छन् ।

आइतबार बिहान वडाबासीहरूले अव्यवस्थित फोहोर संकलनका कारण आफूहरूले दुर्घन्धको सामना गर्नुपरेको बताएका छन् । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टसहितका जनप्रतिनिधि र कर्मचारीहरूको हर्कतको विरोध जनाउँदै प्रदर्शनमा उत्रिनु परेको स्थानीयले बताएका छन् ।

कटाहा गाउँका प्रधान वन उपभोक्ता समितिका अध्यक्ष अशोक चौधरीले अव्यवस्थित फोहोर संकलनले गर्दा आफूहरू निकै समस्या र तनाबमा परेको बताएका छन् । उनले भने, ‘फोहोरको समस्याले हाम्रो स्वास्थ्यमा ठूलो समस्या हुन थालेको छ । व्यवस्थित रुपमा फोहोर संकलन गरेर व्यवस्थापन गर्ने भनेर हामीलाई हस्ताक्षर गराए । अहिले अव्यवस्थित भएको छ । यसबाट कटाहा गाउँका हामी निकै प्रभावित बनेका छौँ ।’

राप्ती गाउँपालिका वडा नं. २ कटाहास्थित फोहोर सङ्कलन केन्द्रमा स्थानीयहरू बिहानै जम्मा भएर जनप्रतिनिधिहरूविरुद्ध नाराबाजी लगाएका छन् । उनीहरूले फोहोर संकलन केन्द्रमा ताला लगाएर विरोध भएका हुन् ।

स्थानीयका अनुसार फोहोर सङ्कलन केन्द्र अव्यवस्थित रूपमा सञ्चालन भइरहेको र त्यस कारण दुर्गन्ध बढ्दै गएर आसपासका बस्तीमा स्वास्थ्य समस्या निम्त्याउने अवस्था बनेको अध्यक्ष चौधरीले बताएका छन् ।

फोहोर संकलन केन्द्र वरपर रहेका खयर, सिमल, सिसौ लगायतका बोटबिरुवा उम्रिएका स्थानहरूमा राप्ती गाउँपालिकाले अतिक्रमण गर्न लागेको आरोप स्थानीयको छ ।

Published : Sunday, 2025 November 23, 9:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया