मंसिरभित्र नियमित वा विशेष महाधिवेशन हुन सक्दैन, उपयुक्त निर्णय गरौं : सभापति बानियाँ

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् आमन्त्रित केन्द्रीय सदस्य ईन्द्रबहादुर बानियाँले मंसिरभित्र नियमित वा विशेष दुवै महाधिवेशन सम्भव नभएको बताएका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपा, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बानियाँले कार्यवाहक सभापतिले पदाधिकारी र कार्यसम्पादनका सदस्यहरूसँगको समन्वयमा उचित निर्णयमा पुग्नुपर्ने बताए । मुख्यमन्त्री समेत रहेका सभापति बानियाँले भने, ‘अहिलेको अवस्था हेर्दा महाधिवेशनका लागि ०८३ मंसिर कुर्ने अवस्था देख्दिनँ ।’

उनले भने, ‘विशेष महाधिवेशनको बहस भइरहेको छ । प्रस्ताव दर्ता भएको तीन महिनामा गर्नुपर्ने विशेष महाधिवेशन पनि मंसिरभित्र हुने अवस्था देख्दिनँ र क्रियाशीलको प्रगति हेर्दा नियमित महाधिवेशन त असम्भव नै छ ।’

सभापति बानियाँले यस्तो परिस्थितिमा कांग्रेसले एकताबद्ध हुँदै व्यावहारिक निर्णयमा पुग्नुपर्ने बताएका छन् । उनले निर्वाचनमा एकताबद्ध भएर जानका लागि कार्यतालिका बनाएर पारित गर्दै विनविन सिचुएसनमा जानुपर्ने बताए ।

‘एउटा कार्यतालिका अहिले नै पारित गर्नुहोस्, निर्वाचन समिति गठन, क्रियाशील सदस्यता छानबिन समिति गठनसहितका काम गर्दै गरौँ,’ सभापति बानियाँले भने, ‘मैले त बोल्ने मात्र हो, निर्णय प्रक्रियामा सहभागी हुन पाउँदिन तपाईंहरूले विवेकसम्मत निर्णय गर्नुहोस् ।’

उनले संसद् विघटन असंवैधानिक भएकाले अदालतबाट पुनर्स्थापित हुने सम्भावना रहेको बताएका छन् । संसद पुनर्स्थापना भएमा पार्टी पूर्णरूपमा महाधिवेशनमा होमिन पाउने सभापति बानियाँले बताएका छन् ।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाएर दवाव दिन खोजेका बेला बागमती कांग्रेसका सभापति बानियाँले मंसिरमा नियमित वा विशेष महाधिवेशन हुन नसक्ने बताएका छन् ।

Published : Thursday, 2025 October 30, 4:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया