आफ्नो बोली लट्पट्याएर पनि अरुलाई बोल्ने अधिकार दिलाउन शेरबहादुरको योगदान छ : बबिता बस्नेत

बबिता बस्नेत

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणा उपचारका लागि सिंगापुर जाँदा काठमाडौं एयरपोर्टमा हिडेर गएको र सिंगापुरको एयरपोर्टमा ह्विल चेयरमा बसेको तस्वीरलाई लिएर अहिले बिभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

मेरो बिचारमा पूर्व प्रधानमन्त्री देउवाको टाउको र पिठ्यूमा लगाइएको टाँकाले लामो बाटो हिड्न गाह्रो भएको हुनसक्छ । डा.आरजु राणाको पनि हिपको अप्रेशन भएकाले बिगतमा बाटोमा हिँड्दा सहयोगीले हातले सपोर्ट दिएको देखिन्थ्यो ।

काठमाडौंको एयरपोर्टमा भित्र छिरेपछि लामो हिँड्नु पर्दैन । तर, सिंगापुर र अन्य धेरै देशका एयरपोर्टहरूमा लामो बाटो हिँडेपछि मात्रै इमिग्रेशनमा पुगिन्छ ।

स्वस्थ मान्छेलाई नै पनि इमिग्रेशनबाट प्लेन चढ्ने ठाउँसम्म पुग्न र प्लेनबाट ओर्लिएपछि इमिग्रेशनसम्म पुग्न थाक्ने गरि हिँड्नुपर्ने एयरपोर्टहरू पनि छन् ।

शायद त्यही भएर उहाँहरूले ह्विल चेयरको सहायता लिन चाहनु भयो होला । यो देशमा प्रजातन्त्र ल्याउनमा अन्य केही नेताहरूसँगै शेरबहादुर देउवाको ठूलो भूमिका छ । प्रजातन्त्रका लागि जेल पर्दा तात्कालिक शासकले जिब्रोमा करेन्ट लगाएका कारण उहाँको बोली स्पष्ट नभएको हो । जुन बोलीलाई लिएर धेरैले खिस्याउने गरेका छन् ।

आफ्नो बोली लट्पट्याएर पनि अरुलाई बोल्ने अधिकार दिलाउनमा उहाँको योगदान छ । आफू सत्तामा हुँदा उहाँका गल्तीहरू भए होला । ह्विल चेयरमा बसेको कुरालाई नै लिएर चाँही यति धेरै आश्चार्य मान्नु पर्छ होला जस्तो लाग्दैन ।

Published : Wednesday, 2025 October 29, 6:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया