बाल मन्दिरको करोडौंको जग्गा घोटालामा डामिएका पोखरेल ‘गगन-विश्व’को हस्ताक्षर अभियानमा संलग्न
काठमाडौं । नेपाल बाल संगठन (बाल मन्दिर), नक्सालको जग्गा हिनामिना र घोटाला काण्डमा मुछिएका नेपाली कांग्रेसका नेता सुवासकुमार पोखरेलले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेको खुलेको छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको विशेष महाधिवेशनको हस्ताक्षर अभियानमा बाल संगठनको जग्गा घोटाला काण्डमा डामिएका पोखरेलले हस्ताक्षर गरेका हुन् । भ्रष्टाचारको विरोधमा अभिव्यक्ति दिँदै आएका महामन्त्रीद्वय थापा र शर्माले बाल मन्दिरको जग्गा घोटाला काण्डमा मुद्दा खेप्दै आएका र डामिएका पोखरेलको समेत साथ लिएपछि उनीहरूको अभियान कति पवित्र छभन्ने कुरा देखाएको छ ।
कांग्रेस नेता पोखरेलविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले काठमाडौं जिल्ला अदालतमा बाल मन्दिरको जग्गा भाडा काण्ड प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कांग्रेस नेता पोखरेलले बाल मन्दिरको जग्गा घोटाला प्रकरणमा अदालतमा मुद्दा खेपिरहेका छन् । सरकारी जग्गा घोटालामा डामिएका पोखरेलले चर्को स्वरमा हस्ताक्षर अभियान समेत चलाएको दाबी गरेका छन् ।
पोखरेलविरुद्ध तत्कालीन समयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ पुर्जी समेत जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि फरार रहेका कांग्रेस नेता पोखरेल अदालतमा उपस्थित भएर धरौटीमा छुटेका छन् ।
नेपाल बाल संगठनको तत्कालीन पदाधिकारी रहेका पोखरेलसहितका १७ जनाविरुद्ध सरकारी वकील कार्यालय, काठमाडौंले ६० करोड ३९ लाख २ सय ३१ रुपियाँ पाँच पैसा बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ । यसअघि सीआईबीले पोखरेलसहित १७ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरे पनि दवाव परेपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेको थियो ।
बाल मन्दिरको जग्गालाई कांग्रेस नेता पोखरेलसहित १७ जनाले बृहस्पती विद्यालयलाई कौडीको भाउमा भाडामा दिएका थिए । बाल मन्दिरको जग्गा कौडीको भाउमा दिँदा आर्थिक चलखेल, अनियमितता र भ्रष्टाचार गरेको उनीहरूलाई आरोप लागेको छ ।
भ्रष्टाचारको आरोप लाग्दैमा राजनीतिमा प्रतिबन्ध लाग्ने त हुँदैन । तर, नैतिकताको प्रश्न सधै उठ्छ । नेता पोखरेलमाथि भन्दा पनि महामन्त्रीद्वय थापा र शर्माले बाल मन्दिरको जग्गा घोटालामा डामिएका नेतासँग समेत विशेष महाधिवेशनका लागि सहयोग मागेको विषय कांग्रेसका इमान्दार कार्यकर्ताहरूले सधैँ प्रश्न उठाउनेछन् ।
पोखरेल शुरुका दिनमा सभापति शेरबहादुर देउवासँग निकट थिए । बाल मन्दिर जस्ता घोटालाहरूमा पटक पटक मुछिन थालेपछि आफ्नो छेउछाउ आउन दिएनन् । त्यसपछि नेता डा.शेखर कोइरालासँग निकट भएका पोखरेललाई शेखरले पनि ढोका बन्द गरिदिएका थिए । देउवा र डा.कोइरालाले विवादित छविका पोखरेललाई ढोका बन्द गरिदिएपछि पोखरेल महामन्त्री थापाको शरणमा पुगेका हुन् ।
हाल सीआईबीमा प्रमुख (एआईजी) मनोज केसी छन् । केसीले कांग्रेस महामन्त्री गगनकुमार थापा निकट मानिने नेता पोखरेललाई बाल मन्दिरको जग्गा घोटाला काण्डमा पक्राउ गरेर पुनः अनुसन्धान गर्न सक्छन् वा सक्दैनन् जिज्ञासा बढेको छ । महामन्त्री थापा र एआईजी केसी निकटका मित्र हुन् । थापा र केसीले सिद्धार्थ बनस्थली स्कुलमा सँगै अध्ययन गरेका थिए ।

बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया