संकटको बेला मिलेर कांग्रेस बलियो बनाउने हो, एकले अर्कालाई गाली गर्ने होइन : रामहरि खतिवडा
मानेभञ्ज्याङ । नेपाली कांग्रेसका नेता एवम् निवर्तमान सांसद रामहरि खतिवडाले देश संकटको बेलामा रहेका बेला पार्टीमा एकताबद्ध भएर जानुपर्ने समय आएको बताएका छन् ।
शनिबार गृहजिल्ला ओखलढुङ्गामा नेपाली कांग्रेसले आयोजना गरेका कार्यक्रमहरूलाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसमा नयाँ नेतृत्व आउने बताए । उनले नयाँ नेतृत्व आउँदै गर्दा गालीगलौजमा नउत्रिन आग्रह गरे ।
उनले भने, ‘अधिवेशनको कुरा छ । विशेष अधिवेशनको कुरा छ । यो परिस्थिति सिर्जना नभएको भए हामी महाधिवेशन मंसिरमा गर्ने थियौँ की ? वा एक वर्षपछि गर्ने थियौँ । झन् संकटको बेलामा पार्टीलाई उकुसमुकुस होइन अझ पार्टीलाई बलियो बनाएर सक्षम नेतृत्वको जिम्मेवारी हो ।’
‘चाहे पार्टी सभापति, चाहे महान्त्री होस् वा चाहे उपसभापति होस् । सबै एक ठाउँमा आउनुपर्छ । भोलिका दिनमा कांग्रेसमा नयाँ नेतृत्व आउनुपर्छ । आउँछ । त्यसमा विवाद छैन,’ खतिवडाले भने ।
‘अहिले नै हामीले एकले अर्कालाई गाली गरेर दोषभरि सबै एउटालाई दिएर हामी मात्रै ठीक छौँ भन्ने अवस्थामा हामी जानु हुँदैन,’ कांग्रेस नेता खतिवडाले भने ।
नेता खतिवडाले भने, ‘परिस्थिति अनुकूल छ । तर, हडबडाउने होइन । देशलाई प्रजातान्त्रिककरण गर्ने कामको नेतृत्व नेपाली कांग्रेसले गरेको छ । कांग्रेसले सबैको संविधान निर्माण गरेको छ । संविधान कार्यान्वयनको बाटोमा अगाडि बढिरहेका बेला देशमा एउटा ठूलो दुर्घटना भएको छ ।’
‘जनताबाट निर्वाचित शक्तिहरूलाई आज पर राखिएको छ । मनोनीतको मान्यमबाट विभिन्न व्यक्तिलाई सरकारको प्रमुख बनाइएको छ । यो बेला पार्टीका साथीहरू झन् एकताबद्ध बनेर जानु पर्छ ।’
‘एउटाले अर्काको आलोचना गरेर होइन, पार्टीभित्रका सबै नेताहरूले व्यवस्थित र एकीकृत भएर जाने बेला छ । पार्टीलाई कमजोर बनाउने बेला होइन,’ उनले भने ।
‘पार्टीभित्र एकले अर्कालाई गाली गर्ने, अपमान गर्ने बेला छैन । असहमति छभने पार्टीभित्र कुरा राखेर समाधान खोज्नुपर्छ । यो संविधानको पक्षमा उभिने बेला भएको छ,’ खतिवडाले भने ।
कार्यक्रममा देशमा स्वतन्त्रता, समानता र न्यायका लागि आफ्नो जीवन अर्पण गरेका प्रजातन्त्र सेनानी एवम् पूर्वमन्त्री बलबहादुर राईको ऐतिहासिक निवासमा विशेष कार्यक्रम राखिएको छ ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य खतिवडाका साथै कोशी प्रदेश सभाका सदस्य प्रदीप सुनुवार, नेपाली कांग्रेस ओखलढुङ्गाका सभापति तेजेन्द्र खनाल, सचिव अजय लुईंटेल, महाधिवेशन प्रतिनिधि नवीन राई, नेता चन्द्रबहादुर कार्की र प्रदेश संगठन विभाग प्रमुख राजन सुवेदी, युवा नेताहरू रोशन महतरा, भुवन दाहाल, राजकुमार राई, अशोक राई, अर्जुन राई लगायतको उपस्थिति रहेको थियो ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया