रसियामा पुरुषोत्तमले आईएमलाई हराए, जिएमसँग हारे
काठमाडौं । रसियाको गणराज्य क्याल्मिकियास्थित एलिस्तामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट र्यापिड बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।
‘स्पिरिट अफ धर्म’ नारा दिएको अन्तर्राष्ट्रिय चेस स्पर्धाको तेस्रो चरणमा नेपालका पुरुषोत्तम सिलवाल शीर्ष वरियताका हंगेरियन २५५० रेटेड खेलाडी ग्रायण्ड मास्टर स्जुजिरोभ सनन सँग कालोगोटी बाट खेल्दै हार ब्यहोरेका छन् ।
२१९८ रेटेड सिएम सिलवालले यसअघि पहिलो र दोस्रो चरणमा जीत दर्ता गर्दै क्रमशः थाइल्याण्डका १७०२ रेटेड नात्रादा काइववात्था तथा फिलिपिन्सका २४२३ रेटेड आईएम नाभा रोडेरिकलाई पराजित गरेका छन् ।
प्रथम बौद्ध राष्ट्रहरूबीच आमन्त्रित चेस प्रतियोगितामा एमेच्योर शैलेन्द्र न्यौपानेले फिलिपिन्सका खेलाडी नाभा रोमेलिन माथि जित, रसियन खेलाडी इर्गित अरिनासँग हार र थाइल्याण्डका नात्रादालाई पराजित गरेका छन् ।
काल्मिक सरकार, काल्मिक चेस फेडरेसन तथा मस्को क्षेत्रिय चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालित प्रतिस्पर्धामा नेपाली महिला खेलाडी सिन्दिरा जोशीले सन्तोषजनक खेल प्रदर्शन गरेका छन् ।
१६३९ रेटेड जोशीले शुरुमा थाइल्याण्डका २२०० रेटेड एफएम कुलप्रोए थानोनसँग हार बेहोरिन् । लगत्तै दोस्रो चरणमा १८५० रेटेड फिलिपिन्सका नाभा मार्क एन्थोनि र तेस्रो खेलमा थान्त हेनलाई हराइन् ।
नेपाली टोलीले ६ अंक जोडेर एभरेज रेटिङका आधारमा दोस्रो स्थानमा उभिन सफल भएका छन् । प्रतिस्पर्धामा पुरुषोत्तमले २२२५, सिन्दिराले १८३२ र शैलेन्द्रले १६७८ रेटिङ पर्फमेन्स गरि समान २–२ अंक बनाएर खेललाई जारी राखेका छन् ।
१० हजार युएस डलर पुरस्कार रहेको प्रतिस्पर्धा अन्तर्गत चौथो चरणमा तिनै जना नेपालीले प्रतिद्वन्द्वीका रुपमा रुसका खेलाडीहरूसँग खेल्नेछन् ।
जहाँ छैठौँ बोर्डमा सिन्दिराले क्याल्मेकियाका २३०९ रेटेड उत्नासुनोभ अलेक्जेन्डर, सातौं वोर्डमा शैलेन्द्रले टाइभाका २२७९ रेटेड एफएम छ्याङदिगर तामेरियन र आठौं वोर्डमा पुरुषोत्तमले बुर्याटियाका २०२२ रेटेड डब्लू एफएम कोमिस्रोभा सोइगिनासँग जीतका लागि प्रयास गर्नेछ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया