राप्रपाको दिग्गज नेताको वडामा दश भोटले खैलाबैला, श्रेष्ठसँग विदेशी पासपोर्ट छानविनको माग
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा गोरखाको एक वडामा आठ भोट प्राप्त भएको हो कि दश भोट भन्ने विषयमा बहस चर्कियो ।
गोरखा सम्पर्क समाजको बैठक चलिरहेको बेला पार्टी प्रवक्ता मोहन श्रेष्ठले ‘साथीहरू मेरो वडामा दश भोट आयो भन्छन्, मेरो मात्र वडा कहाँ हो र ? प्रेम श्रेष्ठ दाइको पनि हो नि’ भनेर गुनासो पोखे ।
स्थानीय चुनावमा आफ्नो वडामा प्राप्त मतबारे श्रेष्ठले धारणा राखेका मात्र के थिए बैठकका सहभागी एक कार्यकर्ताले, ‘दश हैन आठ भोट मात्र आएको हो’ भनेर प्रतिवाद गरे ।
त्यसपश्चात राजेन्द्र लिङदेनका विश्वासी प्रवक्ता श्रेष्ठ र ती कार्यकर्ताबीच ‘दश, आठ’, ‘दश, आठ’ भन्दै एकछिन दोहोरी नै चल्यो ।
केवल दुई भोटको विषयमा केन्द्रीय कार्यालयमै किन यसरी बहस चर्कियो भन्नेबारे वास्तविकता यस्तो रहेछ ।
वडा चुनावको नतिजा प्रकाशन हुँदा गोरखामा आठ भोट प्राप्त भएको विवरण घोषणा गरिएको थियो । घोषणा जे जस्तो भए पनि निर्वाचन आयोगको केन्द्रीय अभिलेखमा अन्ततः दश भोट भनेर लेखिएछ । यही प्राविधिक त्रुटीमा टेकेर राप्रपाका केन्द्रीय पदाधिकारी दुई भोटको हानथापमा अग्रसर भएका रहेछन् ।
प्रवक्ता श्रेष्ठको गृह वडा कार्यसम्पादन समिति सदस्य प्रेम श्रेष्ठको पनि वडा हो । कार्यसम्पादन समिति सदस्य श्रेष्ठ अमेरिकी पासपोर्टवाहक विदेश नागरिक रहेको आरोप राप्रपाभित्र लाग्दै आएको छ ।
नेपाली राजनैतिक दलमा विदेशी नागरिक सदस्य हुनु गैरकानूनी कार्य हो जसबारे राप्रपाको केन्द्रीय कार्य समितिमा विरोध भएको एक नेताले बताएका छन् ।
नैतिकता र आदर्शको कुरा गरेर, कसम खाएर नथाक्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले हालसम्म आफ्नो अनैतिक र गैरकानूनी मनोनयन सच्याउने कुनै छनक देखाएका छैनन् । श्रेष्ठको अमेरिकी पासपोर्टका विषयमा छानविन गर्ने वा बुझ्ने बारे अध्यक्ष लिङदेनले ध्यान किन नदिएको भनेर नेताहरूले प्रश्न उठाएका छन् ।
स्मरण रहोस्, वडामा आठ भोट बराबरको हैसियत भएका प्रवक्ता श्रेष्ठ केपी ओलीलाई राप्रपा नभई कसरी चुनाव जित्नुहुन्छ भनेर हालै चुनौति दिएका थिए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया