राखेपद्वारा खेलाडी, प्रशिक्षकसहित २० जना खेलकर्मीलाई सम्मान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेलाडी, प्रशिक्षक, खेल संघ, प्रायोजक, निर्णायक, कर्मचारी र पत्रकारसहित कुल २० जना खेलकर्मीलाई सम्मान गरेको छ ।

शुक्रबार काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा ६२औं वार्षिकोत्सवमा अवसरमा राखेपले खोखो विश्वकप उपविजेता (पुरुष र महिला) दुई टोलीसहित खेलकर्मी उत्कृष्ट अवार्डबाट सम्मान गरेको हो ।

राखेपका अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका उपाध्यक्ष ध्रुव आचार्य र राखेपका सदस्यसचिव टंकलाल घिसिङलगायतले उनीहरूलाई पुरस्कृत गरेका छन् ।

राखेपले नेपाली खेलकुदमा योगदान दिएबापत खोखो टिमसँगै जुनियरमा दुई खेलाडी, पारामा एक खेलाडी, १० कर्मचारी, एक राष्ट्रिय खेल संघ, एक प्रायोजक, दुई पत्रकार र एक स्थानीय तहलाई सम्मान गरेको छ ।

खोखो पुरूष/महिला टोलीलाई समान एक लाख नगद पुरस्कारसहित ट्रफी प्रदान गरिएको छ ।

गत वर्ष भारतमा सम्पन्न खोखो विश्वकपमा दुवै टोली उपविजेता हो । साथै नेपाल र भारतबीच भएको टेस्ट म्याचमा पनि नेपाली टोलीले रजत जितेका थिए ।

जुनियरको पुरुषमा बक्सिङका अर्पिल राना र महिलामा क्रिकेटकी पूजा महतो जनही ५० हजार नगदसहित सम्मानित भए ।

अर्पिलले थाइल्यान्डमा भएको एसियाली यू–२२ युथ बक्सिङ र श्रीलंकामा सम्पन्न एसियाली बक्सिङ यू–१९ मा कांस्य जितेका थिए । पूजा नेपाली यू–१९ महिला क्रिकेट टोलीकी कप्तान हुन् ।

उनको कप्तानीमा नेपालले विश्वकप पनि खेलेको थियो । उनले एसिया छनोटमा दुई सय ७२ रन र १० विकेट पनि लिएकी थिइन् । उनी छनोटमा प्लेयर अफ द सिरिज पनि हुन् ।

उनी आइसिसी यू–१९ महिला टी–ट्वान्टी विश्वकपमा मलेसियाविरूद्ध प्लेयर अफ द म्याच भएकी थिइन् । पेरिस पारालिम्पिककी कांस्य पदक विजेता पारा तेक्वान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन् ।

उनले मलेसियामा सम्पन्न १०औं एसियाली पारा तेक्वान्दोमा कांस्य पदक पनि जितेकी थिइन् । कार्यक्रममा उत्कृष्ट राष्ट्रिय खेल संघको अवार्ड नेपाल क्रिकेट संघ (क्यान), उत्कृष्ट प्रायोजकको अवार्ड नेपालय इन्टरनेसनल प्राली र उत्कृष्ट स्थानीय तहको अवार्ड मकवानपुरको बागमती गाउँपालिकाले प्राप्त ग¥यो । यी सबै समान एक लाख नगदसहित सम्मानित भए ।

कर्मचारीतर्फ सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कारबाट राखेपका नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल (प्रशासन), दाङ जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक भीमलाल विक (प्रशिक्षण) पुरस्कृत भए । दुवैले जनही २५ हजार नगद पुरस्कार पाए ।

उत्कृष्ट परिषद् सेवा पुरस्कारको प्रशासनमा संघ/संस्था समन्वय शाखाकी नायब वरिष्ठ प्रशासकीय अधिकृत प्रभा कर्माचार्य र प्रशिक्षणमा ललितपुर जिल्ला खेलकुद विकास समितिका तेक्वान्दो प्रशिक्षक तुल्सीनन्द वज्राचार्य जनही १५ हजार नगदसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारको प्रशासनमा ललितपुर जिल्ला खेलकुद विकास समितिका प्रशासकीय अधिकृत बाबुकाजी श्रेष्ठ र प्रशिक्षणमा तालिम तथा प्रशिक्षण विभागकी नायब वरिष्ठ एथलेटिक्स प्रशिक्षक उषाकर्ण चौधरी सम्मानित भए ।

करार सेवा पुरस्कारको प्रशिक्षणमा काठमाडौं जिल्ला खेलकुद विकास समितिका सहायक कराते प्रशिक्षकद्वय संघरत्न महर्जन र कुशल श्रेष्ठ तथा प्रशासनमा राष्ट्रिय टिम तयारीकी सहायक द्वितीय दीपिका केसी र प्रशासन विभागका कार्यालय सहयोगी दुर्गा थापा पुरस्कृत भए । परिषद् र करार सेवाका पुरस्कृतले जनही १० हजार नगद प्राप्त गरेका छन् ।

Published : Friday, 2025 August 29, 9:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया