युथ, क्याडेट तथा वोमेन चेस भदौको दोस्रो साता

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको आयोजनामा यही भदौ १३ र १४ गते दोस्रो नेशनल फ्रिडम एशियन चेस इनिसियटिभ युथ, क्याडेट तथा महिला चेस च्याम्पियनसिप हुने भएको छ ।

पुरुष तथा महिला दुबै विधाका गरि ६ फरक उमेर समूहमा हुने प्रतियोगितामा युवा – १८, १६, १४, १२, १० र ८ वर्षमुनिका खेलाडीहरूले सहभागी जनाउने छन् ।

नेपाल बुद्धिचाल महासंघको चेस टालेण्ट हण्टका रुपमा सञ्चालन हुने प्रतियोगितामा देशभरका ५ सयभन्दा बढी विद्यार्थी खेलाडीहरूको सहभागी रहने प्रतिस्पर्धा काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बाङ्क्वेटमा संचालन हुनेछ ।

कूल ३ लाख छत्तीस हजार नगद पुरस्कार रहेको प्रतियोगितामा प्रत्येक समूहका विजेताले जनही १० हजार, उपविजेताले ७ हजार र तेस्रो हुनेले ४ हजार नगद, प्रमाणपत्र तथा मेडल हात पार्ने छन् ।

१२० जना खेलाडीहरू पुरस्कृत हुने च्याम्पियनसिपमा चौथोदेखि दशौं स्थान प्राप्त गर्ने खेलाडीले समेत नगद पुरस्कार हात पार्ने छन् ।

प्रतियोगिताका लागि एफएसिआईका प्रोजेक्ट प्रमुख मिस जजिरा इस्कामदिरोभ र काजकिस्तान चेस फेडेरेसनका प्रथम उपाध्यक्ष जिएम दर्मेन सद्भाकासोभ बिहीबार नेपाल आउने भएका छन् ।

नेपालको बुद्धिचाल खेल विकासमा टेवा पु¥याउने हेतुले विश्व बुद्धिचाल महासंघ व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक तथा सुपर जिएम भिक्टोर बोलोगन शुक्रबार नेपाल आउने तय भएको छ ।

महासंघका अध्यक्ष हेराकाजी महर्जनले भिक्टोर बोलोगनको नेपाल आगमन खास अर्थ रहने जानकारी गरेका छन् । नेपालमा चेस विकासका लागि काजकिस्तान चेस संघसंग महासचिव धर्मबहादुर लामाले समन्वय गरेका हुन् । उनले खेलाडी प्रशिक्षण तथा प्रतियोगिता सहभागी निःशुल्क रहने बताए ।

दोस्रो नेसनल फ्रिडम एसियन चेस इनिसिएटिभ्स प्रतियोगिता संचालन गर्न लाग्ने १० लाख खर्चमध्ये कजाकिस्तान चेस फेडेरशनले नगद पुरस्कार सहयोग गरेको छ । राष्ट्रिय खेलकुद परिषदले समेत आर्थिक सहयोग गर्ने भएको छ ।

६ विधाका खेल सञ्चालन गर्न मंगलबार नेपाल बुद्धिचाल महासंघ र काजाकिस्तान चेस महासंघका बीचमा हस्ताक्षर भएको छ ।

नेपाली चेस खेलाडीहरूलाई प्रशिक्षण दिन काजाकिस्तानका ईन्टरनेशनल मास्टर बख्तियार आस्कारोभ मंगलबार नेपाल आइपुगेको छ । पन्ध्र दिनसम्म काठमाडौंको दरवारमार्गस्थित होटल उड ल्याण्डमा संचालन हुने चेस प्रशिक्षणमा नेपालका २० जना राष्ट्रिय खेलाडीहरू लाभान्वित हुनेछन् ।

Published : Tuesday, 2025 August 26, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया