ओलम्पिकका नाममा गैरकानूनी गतिविधि नगर्न जीवनरामलाई चेतावनी, बुझबुझारथ गर्न पत्र

काठमाडौं । नेपाल ओलम्पिक कमिटी, तदर्थ समितिका प्रवक्ता समिम मियाँ अन्सारीले जीवनराम श्रेष्ठ समूहलाई गैरकानूनी र अनधिकृत कार्य नगर्न सचेत गराएका छन् ।

शनिबार प्रवक्ता अन्सारीले प्रेस विज्ञप्ति जारी गरेर जीवनराम श्रेष्ठ समूहबाट अनाधिकृत तरिकाले भदौ ६ गते नेपाल ओलम्पिक कमिटीको नामबाट बैठक बसेर विज्ञप्ति जारी गरेको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा मिति २०८१ पौष १३ गतेको निर्वाचनबाट गठन भएको भनिएको नेपाल ओलम्पिक कमिटीको तथाकथित कार्यसमिति विधान र कानून बमोजिम अबैध भएकोले नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल, संघमध्ये बहुमत २३ वटा सदस्य संघहरूको मिति २०८२ श्रावण २६ गते संयुक्त बैठक बसी ध्रुबबहादुर प्रधानको संयोजकत्वमा नेपाल ओलम्पिक कमिटी, तदर्थ समिति गठन भई आफ्नो दैनिक काम कारबाही अघि बढाइसकेको अवस्थामा निज जीवनराम श्रेष्ठ लगायत केही अनधिकृत व्यक्तिहरूको समूहले मिति २०८२ साल भाद्र २ गतेको दिन अनधिकृत तौरले बैठक बसी विभिन्न निर्णयहरू गरि विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा विभिन्न खेल संघका अध्यक्ष लगायत पदाधिकारीहरूको मानमर्दन हुने गरि नेपाल ओलम्पिक कमिटीको नाममा गैरकानूनी अनाधिकृत तौरले विज्ञप्ति जारी गरेकोप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘संस्थागत सर्वमान्य सिद्धान्त बमोजिम, विधान र कानून अन्तरगत रही तदर्थ समितिले मिति २०८२ साल भाद्र ४ गतेदेखि आफ्नो कामकारबाही प्रारम्भ गरिसकेको अवस्थामा त्यस प्रकारको गैरकानूनी गतिविधिले मुलुकको कानूनको उल्लंघन भएको र देशको सिङ्गो खेल जगतमा भ्रम सृजना गरी खेलाडी तथा संघहरूलाई अन्यौलमा पार्ने कार्य गरिरहेकोले यस किसिमका अनैतिक र गैरकानूनी गतिविधि नगर्न हुन त्यस तथाकथित ओलम्पिक कमिटी र नेतृत्वलाई सचेत गराउन चाहन्छौँ । अन्यथा कानूनी उपचारका लागि जान हामी बाध्य हुने छौँ,’ प्रवक्ता अन्सारीले चेतावनी दिएका छन् ।

यसैबीच, नेपाल ओलम्पिक कमिटी, सचिवालय व्यवस्थापन उपसमितिका संयोजक निलेन्द्रराज श्रेष्ठले जीवनराम श्रेष्ठलाई पत्र लेखेर बुझबुझारथ गर्न निर्देशन दिएका छन् ।

‘नेपाल ओलम्पिक कमिटीको नाममा रहेको चलअचल सम्पत्ति लगायत नगद तथा जिन्सी सामग्री र समितिको माईनुट बुक समेत यो पत्र प्राप्त भएको मितिले ३ दिनभित्र यस समितिलाई बुझबुझारथ गर्न हुन जानकारी गराइन्छ । अन्यथा कानून अनुसार भइजाने कुरा समेत जानकारी गराइन्छ,’ जीवनराम श्रेष्ठलाई लेखिएको पत्रमा संयोजक निलेन्द्रराज श्रेष्ठले भनेका छन् ।

Published : Saturday, 2025 August 23, 4:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया