लुम्बिनी लाभाजमा रसियन जुवरेभ

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिवल लिगको फ्रेन्चाईज टिम लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवरेभलाई अनुबन्धन गरेको छ ।

नेपाल भलिवल संघको सहकार्यमा इन्फिनिटी ड्रीम्स प्रा.लि.ले आयोजना गरेको प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाईड हिटर जुवरेभलाई दोस्रो सिजनको प्रतियोगिताका लागि अनुबन्धन गरेको हो ।

जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन् । उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिसकेकी छिन् । बलियो ब्लकिङ, तीव्र प्रतिक्रिया क्षमता र नेट अगाडि निर्णायक अंक दिलाउने उनको कौशलता, टिमका लागि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको क्लबले जनाएको छ ।

लुम्बिनी लाभाज टिमलाई अझै शसक्त बनाउन अन्य दुई विदेशी खेलाडीको नाम केहि दिनमा नै सार्वजनिक गरिने टिम म्यानेजर स्तुति निरौलाले बताइन् । विदेशी खेलाडीको सहभागिताले टोलीलाई थप सशक्त बनाउने म्यानेजर निरौलाले विश्वास व्यक्त गरेकी छिन् ।

यसअघि सम्पन्न अक्सनमार्फत टोलीले नेपाली महिला भलिवल टोलीका कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई पनि अनुबन्ध गरिसकेको र खेलाडीहरु पूर्णरुपमा प्रशिक्षणमा रहेका छन् । दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुँदैछ ।

Published : Saturday, 2025 August 23, 4:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया