सरकारद्वारा प्रधान नेतृत्वको ओलम्पिक कमिटीलाई मान्यता, कार्यालय प्रदान

काठमाडौं । ध्रुवबहादुर प्रधान नेतृत्वको नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई सरकारले सातदोबाटोस्थित कार्यालय उपलब्ध गराएको छ ।

एनओसीको तदर्थ कमिटीलाई काम गर्न दिने उद्देश्यले सरकारले सातदोबाटोस्थित एनओसी भवन उपलब्ध गराएको हो । एनओसीको कार्यालयमा लगाएको ताला खोलिदिएर सरकारले प्रधान नेतृत्वको कार्यसमितिका प्रवक्ता समिम मियाँ अन्सारीलाई चाबी हस्तान्तरण गरिएको छ ।

जीवनराम श्रेष्ठ नेतृत्वको अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीलाई अबैधानिक भन्दै सरकारले कार्यालयमा छिर्न दिएको छैन । सरकारले श्रेष्ठ नेतृत्वको एनओसीलाई अवैधानिक भन्दै आएको छ । श्रेष्ठले कार्यालय भवन कब्जा गर्न खोजेपछि सरकारले ताला लगाएको थियो ।

प्रधान नेतृत्वको तदर्थ कमिटीका प्रवक्ता अन्सारीले भने, ‘हामीलाई काम गर्न दिन सरकारले ताला खोलिदिएको हो ।’

जापानमा हुने २० औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडीको संख्या पठाउने समय एक महिनाभन्दा कम रहेका बेला तदर्थ समितिका पदाधिकारी एनओसी भवनमा प्रवेश गरेका हुन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नयाँ ओलम्पिक कमिटी गठन गर्ने घोषणा गरेका थिए । त्यसपछि प्रधानको नेतृत्वको तदर्थ कमिटी बनेको थियो ।

Published : Wednesday, 2025 August 20, 9:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया