वर्ल्ड च्याम्पियनसिपमा नेपालबाट घिमिरेले प्रतिस्पर्धा गर्ने

गोवा । शारीरिक रुपमा अशक्त चेस फेडेरेशन र विशेष रुपमा सक्षम गोवा चेस एशोशिएशनको संयुक्त आयोजनामा फरक क्षमता भएका व्यक्तिहरूको लागि २४ औं विश्व व्यक्तिगत चेस च्याम्पियनसिप छिमेकी मुलुक भारतमा सुरु भएको छ ।

विश्व बुद्धिचाल महासंघको तत्वावधानमा जुलाई २१ देखि ३१ सम्म भारतको गोवामा सञ्चालन हुने प्रतियोगिताको सोमबार भव्य समारोहका बीच गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले उद्घाटन गरेका छन् ।

प्रतियोगितामा नेपालका विश्वविजय घिमिरेले खेलाडीका रुपमा नेपालको प्रतिनिधि गर्दै उद्घाटन समारोहमा उपस्थित भएका छन् ।

फरक क्षमताको बीचमा हुने स्पर्धामा ५५ वर्षीय विश्वविजय घिमिरेलाई सहभागिताको लागि मेची नगरपालिकाले आर्थिक सहयोग प्रदान गरिएको थियो ।

विश्व चेस महासंघको आधिकारिक वर्ल्ड च्याम्पियनसिपमा भने नेपालको यो तेस्रो सहभागिता हो ।

यसअघि सन् २०२४ मा नेपाल च्याम्पियन रुपेश जैशवालले अजरबैजानमा भएको वर्ल्ड साइकल छनौटमा नेपालको प्रतिनिधित्व गरेका थिए ।

सन् २०२४ कै काजाकिस्तानमा भएको वर्ल्ड युथ क्याडेट च्याम्पियनसिपमा त्रियोग उच्च माविका विद्यार्थीले नेपालको प्रतिनिधित्व गरेका थिए ।

वर्ल्ड च्याम्पियनसिपमा नेपालका अन्तर्राष्ट्रिय आविर्टर यज्ञप्रसाद पन्त निर्णायकको भूमिकामा रहनेछन् । कुनै पनि वर्ल्ड च्याम्पियनसिपमा निर्णायकको रुपमा नेपाली आर्विटरको यो पहिलो अवसर पनि हो ।

नेपाल बुद्धिचाल महासंघको पहलमा नेपालको प्रतिनिधित्व गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी विश्वविजयले विश्वस्तरीय खेलमा सहभागी हुन पाउनु गौरवको विषय हो भन्दै राम्रो प्रदर्शन गर्ने बताएका छन् ।

महासंघकै पहलमा मौका प्राप्त गरेका निर्णायक आईए पन्तले विश्वस्तरीय अवसरलाई चुनौतीको रुपमा लिएको बताए ।

फरक क्षमता भएका बुद्धिचाल खेलाडीहरूको वर्ल्ड च्याम्पियनसिपमा नेपाल सहित आयोजक राष्ट्र भारत, कजाकिस्तान, चीन, इजरायल, फ्रान्स, रुस, पोलाण्ड, स्लोभाकिया, हंगेरी, चेकोस्लाभाकिया, मंगोलिया, फिलिपिन्स, अवरबैजान, उब्जेकिस्तान लगायत देशहरुका ९७ जना खेलाडीहरूको सहभागीता रहेको छ ।

भारतको पर्यटकीयस्थल गोवामा आगामी ११ दिनसम्म संचालन हुने ९ चरणको प्रतिस्पर्धामा खेलाडीलाई हौसला प्रदान गर्न नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र विश्वस्तरीय खेल अवलोकन गर्न खेलाडी राजभाई महर्जन भारत पुगेका छन् ।

Published : Monday, 2025 July 21, 4:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया