प्रचण्ड–सीताका छोरा हुन् ‘प्रकाश’, आँशु त झार्नै पर्छ कमरेड

अस्मिताकुमारी मगर

सोमबार बिहानैदेखि सामाजिक सञ्जाल साकार दाहाल उर्फ प्रकाशको मृत्यु भएको एक वर्षको सम्झनामा धेरैले समवेदना दिए । माओवादीले दश वर्ष सञ्चालन गरेको सशस्त्र युद्धका बेला साकार दाहाल जस्ता थुप्रैको मृत्यु भयो । १७ हजार मारिए । उनीहरूको चर्चा भएन । मारिने ती १७ हजार प्रचण्ड–सीताका छोराछोरी थिएनन् । युद्धका बेला मारिने सर्वसाधारणका बुबाआमा र आफन्तले अहिले पनि मन दुखाएर बसेका छन् । उनीहरूको पीडा बुझ्ने कोही पनि छैनन् । किन भने उनीहरूको आवाज साकार दाहालको जस्तो माथि आउन सकेन ।

दश वर्षको कथित जनयुद्धका नाममा पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, रामबहादुर थापा, कृष्णबहादुर महरासहितका थुप्रै नेता तथा टाठाबाँठाले राज्य सत्ताको फाइदा लिइरहेका छन् । साकार अर्थात प्रकाश दाहालको कालगतीले मृत्यु भएको स्मरणमा ललितपुरमा भव्य कार्यक्रम भयो । सामाजिक सञ्जाल रंगिए । विभिन्न पत्रपत्रिका र दैनिक पत्रिकाहरूमा संस्मरणहरू आए । तर, गाउँको साधारण प्रकाश मारिदा वा निधन हुँदा कहिल्यै पनि कसैले स्मरण गरेनन् ।

विधिवत तीनवटी पत्नी भएका साकार दाहालको मृत्यु के कति कारणले भएको हो सत्यतथ्य बाहिर आएको छैन । साकार दाहालका परिवारका अनुसार उनको मृत्यु कालगतीले भएको थियो । लाजिम्पाटस्थित निवासमा नै मृत्यु भएका साकारको निधनको घोषणा थापाथलीको सुविधा सम्पन्न एक अस्पतालमा धेरै ढिला भएको थियो ।

साकार अर्थात प्रकाश दाहालकी पहिलो पत्नीले सम्बन्ध विच्छेदपछि आफ्नै तरिकाले घरजम गरेर बसेकी छिन् । कान्छी पत्नी कम्युनिस्ट सरकारको मन्त्री बनेकी छिन् । बिनाबाट एक छोरा छन् । माइली पत्नी सिर्जना त्रिपाठी दाहाल पोखरातिर छोरालाई लिएर बस्छिन् ।

साकार दाहालको मृत्यु हुँदा जति नै प्रचण्ड र सीता दाहाल तथा प्रचण्डका आसपास घुम्नेहरूलाई भएको छ त्यती नै पीडा गाउँको साधारण प्रकाशको मृत्यु हुँदा हुनुपर्ने हो । तर, त्यस्तो कहिल्यै भएन ।

साकार अर्थात प्रकाश दाहाल शक्तिशाली प्रचण्ड र सीताका छोरा हुन् । साकारका बुबा अहिले पनि शक्तिमा छन् । माओवादीलाई एमालेमा मिसाएर पनि शक्तिमा छन् । यस्तो अवस्थामा सकार अर्थात प्रकाश दाहालको स्मरण नगर्ने को होला ?

साकार अर्थात प्रकाश दाहालको संस्मरणमा सोमबार खुमलटारमा गरिएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली आफै पुगेर श्रद्धाञ्जलि दिए । तीन हप्तासम्म बालुवाटारबाट बाहिर ननिस्किएका ओली सोमबार अचानक खुमलटार पुगेका थिए । ओलीलाई खुमलटार पुग्न बाध्य बनाउने साकार कति शक्तिशाली छन् भनेर धेरैले कार्यक्रमका बेला खासखुस गरेका थिए ।

खुमलटारमा साकार अर्थात प्रकाश दाहालको स्मरण गर्नेहरू धेरैले भित्री आत्माले भन्दा पनि शक्तिको पछाडि लागेर श्रद्धाञ्जलि दिनेहरू धेरै रहेको एक नेताले बताए । यो कुरा पीडापूर्ण छ । तर, सत्य त्यही हो ।

स्मृति सभामा आयोजित कार्यक्रमका बेला मञ्चमा बसेकी सीता दाहाल रोएकी थिइन् । सर्वसाधारण माओवादीका कार्यकर्ताको छोराछोरी मारिदा वा मर्दा सीता कति रोइन् भनेर धेरै मन मनै प्रश्न गरेका थिए । किन भने साकार अर्थात प्रकाश दाहाल प्रचण्ड र सीता दाहालका एक मात्रै छोरा हुन् ।

Published : Monday, 2018 November 19, 10:06 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया