२.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन, १८ करोडको हिसाब चाहियो : रास्वपा सांसद सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले गगनकुमार थापाप्रति लक्षित गरेर २.० को खोल ओढ्दैमा कोही इमानदार हुन नसक्ने बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् रास्वपाका नेता सिंहले जनतालाई १८ करोडको हिसाब खोजेको बताएका छन् ।

उनले भने, ‘सुशासन, पारदर्शिता र स्वतन्त्र न्यायपालिकाको ठूलाठूला गफ गर्ने नयाँ पार्टीका सभापतिसम्बन्धी ‘१८ करोड रुपियाँको लेनदेनमार्फत आधिकारिकता प्राप्त गरेको’ भन्ने गम्भीर समाचार सञ्चारमाध्यममा आएका छन् ।’

‘यो विषय सत्य हो भने जनताले गम्भीर रूपमा सोंच्नुपर्ने बेला आएको छ,’ रास्वपा नेता सिंहले भने, ‘आफू सभापति बन्नकै लागि न्याय र न्यायिक प्रक्रियामाथि पैसाको प्रभाव पार्न खोज्ने व्यक्ति सत्तामा पुगेपछि के गर्ला ?’

नेता सिंहले भने, ‘मैले पहिले नै भन्दै आएको थिएँ–२.० को खोल ओढ्दैमा कोही इमानदार हुँदैन । सुशासनको नारा लगाउँदै जनतालाई भ्रममा पार्ने, पर्दापछाडि शक्ति, पैसा र बिचौलियाको खेल खेल्नेहरूबाट देशको भविष्य सुरक्षित हुँदैन ।’

‘विभिन्न सञ्चार माध्यममा आएका समाचार सत्य भए दोषीमाथि कानूनअनुसार कठोर कारबाही होस्, असत्य भए तथ्यसहित जनतालाई स्पष्ट पारियोस्,’ नेता सिंहले गगन थापाको नाम उल्लेख नगरेर जवाफ माग गरेका छन् ।

‘जनतालाई अब भाषण होइन हिसाब चाहिएको छ,’ रास्वपाका सांसद सिंहले भनेका छन् ।

नेपाली कांग्रेसको आधिकारिकता पाउन गगनकुमार थापाले न्यायालयमा बिचौलिया इनम सापकोटासँग १८ करोडको तथाकथित डिल गरेको तथा न्यायाधीश सारङ्गा सुवेदीलाई ३ करोड दिएको भन्ने बयानलाई हवाला दिँदै काठमाडौंपाटी डटकमले समाचार प्रकाशित गरेपछि हङ्गामा भएको छ ।

Published : Monday, 2026 November 2, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया