बालबालिकको उद्धारका नाममा तस्बिर र भिडियो बनाएर सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा नराख्न प्रहरीको अपील

काठमाडौं । बाढी प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्बिर, भिडियो तथा व्यक्तिगत विवरणहरू सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा सार्वजनिक भइरहेको सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिहीबार प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका डीआईजी अविनारायण काफ्लेले प्रेस विज्ञप्ति जारी गरेर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा बालबालिकाको तस्बिर तथा भिडियो सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।

‘भोटेकोशी नदीमा आएको बाढी लगायतका हालैका प्राकृतिक विपद्, दुर्घटना तथा अन्य घटनाबाट प्रभावित बालबालिकाको उद्धार, राहत तथा सहयोगका क्रममा खिचिएका तस्विर, भिडियो तथा व्यक्तिगत विवरणहरू सामाजिक सञ्जाल एवं सञ्चार माध्यममा सार्वजनिक भइरहेको सम्बन्धमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘यस्ता सामग्रीले बालबालिकाको गोपनीयता, आत्म सम्मान र मनोवैज्ञानिक अवस्थामा दीर्घकालीन नकारात्मक असर पार्न सक्ने भएकाले नेपाल प्रहरी सम्पूर्ण सञ्चार माध्यम, पत्रकार, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालामा देहाय बमोजिम गर्नुहुन अनुरोध गर्दछ,’ विज्ञप्तिमा डीआईजी काफ्लेले भनेका छन् ।

‘विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकाका तस्विर, भिडियो तथा दृश्य सामग्री प्रकाशन÷प्रसारण गर्दा उनीहरूको मानसिक अवस्थामा असर नपर्ने गरी विशेष सावधानी अपनाउनुहुन,’ विज्ञप्तिमा भनिएको छ, ‘पीडित वा प्रभावित बालबालिकाको नाम, ठेगाना, विद्यालय, परिवारको विवरण, अनुहार वा पहिचान खुल्ने अन्य विवरण सार्वजनिक नगर्नुहुन तथा आवश्यक अवस्थामा पहिचान लुकाउने व्यवस्था मिलाउनुहुन ।’

प्रहरीले भनेको छ, ‘बालबालिकाको असहाय वा रोइ रहेको अवस्था देखाई सामग्री भाइरल गर्ने, सहानुभूति वा आर्थिक सहयोग जुटाउने उद्देश्यले उनीहरूको आत्म सम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन÷प्रसारण नगर्नुहुन ।’

‘मानसिक रूपमा प्रभावित बालबालिकासँग पटक–पटक अन्तर्वार्ता लिने, घटना सम्झन बाध्य पार्ने वा पीडाको पुनः प्रदर्शन हुने किसिमका सामग्री तयार नगर्नुहुन,’ विज्ञप्तिमा भनिएको छ, ‘बालबालिकाको पहिचान खुल्ने तस्विर, भिडियो वा डिजिटल सामग्रीलाई अनुमति र संवेदनशीलताबिना पुनः प्रसारण, सम्पादन, मीम वा अन्य स्वरूपमा प्रयोग नगर्नुहुन ।’

‘विपद्को समयमा फोटो, भिडियो खिच्नुभन्दा बालबालिकाको उद्धार, सुरक्षा, उपचार र संरक्षणमा प्राथमिकता दिनुहुन,’ विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जालमा प्राप्त सामग्रीको सत्यता र संवेदनशीलता नबुझी शेयर, रिपोस्ट वा फर्वार्ड नगर्नुहुन, बालबालिकाको हित विपरीत देखिने सामग्री थप प्रसार नगर्नुहुन ।’

‘नेपाल प्रहरी बालबालिकाको सुरक्षा, संरक्षण, गोपनीयता र सर्वोत्तम हित सुनिश्चित गर्न प्रतिबद्ध छ,’ विज्ञप्तिमा प्रहरीले चेतावनी शैलीमा भनेको छ, ‘प्रचलित कानून, पत्रकार आचारसंहिता तथा बालमैत्री सञ्चार निर्देशिका, २०७३ को पालना गर्न सम्पूर्ण सरोकारवालामा अनुरोध गर्दछौं ।’

Published : Thursday, 2026 September 3, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया