मुद्दा हचुवाका भरमा अघि बढ्दैन, प्रधानमन्त्री कार्यालय गएकोलाई स्वाभाविक लिएको छु : प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले हचुवाका भरमा अख्तियारले कसैलाई पनि मुद्दा नचलाउने बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार प्रमुख राईले भने, ‘कुनै पनि मुद्दा हचुवाका भरमा अघि बढ्दैन, अनुसन्धान अधिकृतको अनुसन्धान र बहुमतका आधारमामात्रै अघि बढ्छ ।’

राईले भने, ‘सहन्यायाधिवक्ताको टिमले सबै हेरेर मात्र पेस गर्न लायक भनेर लेखेर दिन्छ । कसैलाई लाने र हाल्ने भनेर कुनै पनि मुद्दा जाँदैनन् ।’

राईले उजुरीको समय तोक्नेबारे धेरै चर्चा हुने गरेको पनि बताए । उनले भने, ‘हद राख्ने कि नराख्ने भन्ने विषय उठ्यो । भ्रष्टाचारजस्तो विषयमा ५ वर्षमा प्रमाण आएन भने छाड्ने त ? समितिमा छलफल हुँदा पनि त्यसरी छुट दिनुहुँदैन भनिएको हो ।’

‘अख्तियारको ऐनमा बिगो नभएको हकमा ५ वर्षे हद अहिले पनि छ,’ राईले भने, ‘बिगो नभएका मुद्दा ५ वर्षमा टुङ्गिएनन् भने त्यो मात्र अदालतले खारेज गर्न सक्छ । यसमा पनि अदालत कन्फ्युज छ ।’

राईले कुनै पनि मुद्दा लामो समय रहनुको कारण तथ्य र प्रमाण नजुट्नु रहेको बताए । उनले ललिता निवास जग्गा प्रकरणको उदाहरण दिँदै भूमिसँग सम्बन्धी मुद्दा लम्बिने गरेको जानकारी दिएका छन् ।

प्रमुख आयुक्त राईले पासपोर्ट छपाइको ठेक्काका विषयमा प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले आफूहरू प्रधानमन्त्री कार्यालय गएको र त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको बताए ।

‘पासपोर्टको विषयमा प्रधानमन्त्रीले छलफल गर्न बोलाउन सक्नुहुन्छ । हामी गएको हो,’ राईले भने, ‘अभियोजन भएको हेर्न सकिन्छ । कैफियतबिना हामीले मुद्दा लगेको अवस्था छैन । यो विषयमा म धेरै गइनँ ।’

‘२०७७ सालमा म आएपछि साना होइन, ठूला माछाको मुद्दा गएको छ । नीतिगत निर्णयबारे समितबाट जबसम्म स्पष्ट निर्णय हुँदैन, तबसम्म मन्त्रिपरिषद्बाट भएका निर्णयमा अख्तियार जान सक्दैन,’ प्रमुख आयुक्त राईले भने ।

उनले अख्तियारले कानून अनुसार मात्र काम गर्ने भन्दै कतिपय प्रकरणमा तथ्य र प्रमाण जुटाउन नसकेकाले लामो समयसम्म पनि मुद्दा लान नसकेको बताए ।

‘लामो समयसम्म किन अदालतमा मुद्दा गएन भन्नेछ । तथ्य र प्रमाण नै संकलन नभएकोले हो,’ राईले भने, ‘हचुवामा कुनै मुद्दा जाँदैन । सरकारी वकिलले डिफेन्स गर्न सक्ने भए जान्छ ।’

Published : Thursday, 2026 August 20, 5:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया