एशियन युथ चेसमा सहभागी हुन नेपाली टिम चीन प्रस्थान

काठमाडौं । नेपाल बुद्धिचाल महासंघको पहलमा जुलाई १५ देखि २५ सम्म सञ्चालन हुने २८ औँ एसियन युथ चेस च्याम्पियनसिप २०२६ अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली युवा चेस टोली चीन प्रस्थान गरेका छ ।

चीनको सेनजेन शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा सिएम पुरुषोत्तम सिलवाल, आयुष भण्डारी, अग्रिम शैंजु, श्रेषा दुवाल र निहाना श्रेष्ठलाई नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन तथा महासंघका प्रवक्ता राजु ताम्राकारले बिदाइ गरेका छन् ।

टिममा सहभागी सिएम पुरुषोत्तम सिलवालले केही समय अगाडि मात्र भारतमा सम्पन्न अन्तर्राष्ट्रिय खेलमा ग्रायण्ड मास्टरलाई पराजित गरेका छन् । निहाना श्रेष्ठले काजकिस्तानमा भएको खेलमा व्यक्तिगत विधामा नेपाललाई अन्तर्राष्ट्रिय रजत पदक दिलाएका छन् ।

नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य निता श्रेष्ठ शैंजुको व्यवस्थापकीय नेतृत्वमा १० दिनका लागि युवा खेलाडीहरू अन्तर्राष्ट्रिय चेस खेलमा प्रतिस्पर्धा गर्नेछन् ।

विगत केही समयदेखि नेपाली युवा तथा सिनियर खेलाडीहरू निरन्तर रुपमा अन्तर्राष्ट्रिय एरिनामा स्पर्धा गर्न विभिन्न राष्ट्रहरूमा यात्रा गरिरहेको महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी गराएका छन् ।

महासंघका प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अभिभावकहरूसँग कुराकानी गर्दै खेलाडी विदेश यात्रामा हुँदा मानव तस्करी जस्ता गम्भीर आरोप लाग्ने गरेको सुनाउँदै अहिलेसम्म चेस खेलाडी सबै नेपाल फर्किएको बताएका छन् ।

ताम्राकारले एशियालीस्तरको प्रतियोगितामा नेपालको सहभागिताले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने तथा भविष्यमा ठूला प्रतियोगिताका लागि थप आत्मविश्वास प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् ।

Published : Tuesday, 2026 July 14, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया