किसानलाई माछाका भुरा वितरण गर्ने बजेटमा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

किसानलाई माछाका भुरा वितरण गर्ने बजेटमा भ्रष्टाचार गरेको आरोपमा आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७४÷०७५ मा नेपाल सरकारबाट धनुषा जिल्लाका किसानहरूलाई राहत स्वरूप माछाका भुरा बाँड्नका लागि २ करोड ३४ लाख २८ हजार रुपियाँ बजेट छुट्याइएको थियो ।

कार्यालयका कर्मचारीहरूले सरकारी फार्मबाट थोरै मात्र माछाका भुरा लिएका थिए । बाँकी भुरा निजी फार्मबाट किनेर किसानहरूलाई बाँडेको देखाउनका लागि उनीहरूले नक्कली कागजात खडा गरे ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार निजी फार्मबाट कुनै भुरा नकिनेरै नक्कली बिल बनाइएको थियो । भुरा नै नपाएका किसानहरूको नक्कली नाम, ठेगाना र नक्कली हस्ताक्षर समेत तयार पारी सरकारी रकम भुक्तानी दिइएको पाइएको छ ।

यसरी माछाका भुरा नै वितरण नगरी झुट्टा कागजपत्रका आधारमा ७२ लाख ५९ हजार ९० रुपियाँ सरकारी रकम हिनामिना गरिएको आयोगले जनाएको छ ।

आयोगले झा, सहित तत्कालीन लेखापाल रामचन्द्र ठाकुर, तत्कालीन प्राविधिक सहायक देवेन्द्रलाल कर्ण र सुदिश माछापालन केन्द्रका प्रोप्राइटर (सञ्चालक) रामसुदीश शरणलाई प्रतिवादी बनाएको छ ।

उनीहरूमध्ये कार्यालय प्रमुख झा, लेखापाल ठाकुर र प्राविधिक सहायक कर्णलाई मुख्य कसुरदारका रूपमा र माछापालन केन्द्रका सञ्चालक शरणलाई भ्रष्टाचारको काममा सहयोग गर्ने सहयोगी मतियारका रूपमा मुद्दा दायर गरिएको छ ।

चार जना प्रतिवादीहरूविरुद्ध जनही ७२ लाख ५९ हजार ९० रुपियाँ बिगो कायम गरिएको छ ।

Published : Saturday, 2026 July 11, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया