काठमाडौं महानगरले गणेश नेपालीको परिवारलाई रोजगारी र क्षतिपूर्ति दिने

काठमाडौं । आत्मदाह गरेका गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

शुक्रबार काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले प्रेस विज्ञप्ति जारी गरेर आत्मदाहका क्रममा निधन भएका गणेश नेपालीको परिवारलाई क्षतिपूर्ति र रोजगारी प्रदान गर्ने जनाएका छन् ।

‘२०८३/०३/२५ गते राहदानी विभाग अगाडि मुगु जिल्ला घर भई हाल भक्तपुर वस्ने गणेश नेपालीले आत्मदाहको प्रयास गरेको र आज उहाँको उपचारका क्रममा भएको दुःखद निधनप्रति काठमाडौं महानगरपालिका स्तब्ध भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘यस घटनाप्रति काठमाडौं महानगरपालिका गहिरो दुःख व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस घडीमा शोकसन्तप्त परिवारप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौं ।’

घटनाको निष्पक्ष छानविन गर्न नेपाल सरकार, गृह मन्त्रालयले छानविन समिति गठन गर्ने निर्णय गरेको भन्ने जानकारी सञ्चारमाध्यम मार्फत् प्राप्त हुन आएको भन्दै प्रवक्ता मानन्धरले उक्त समितिको तथ्यगत छानविनमा काठमाडौं महानगरपालिकाले पूर्णरुपमा सहयोग गर्ने जनाएका छन् ।

‘छानविनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक र जिम्मेवारीपूर्ण कदमहरू चाल्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘महानगरपालिका नेपाल सरकारसँगको समन्वय र सहकार्यमा समाधानका उपाय पहिचान गर्न, यस्ता घटना दोहोरिन नदिन र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान तयार छ ।’

‘यस संवेदनशील अवस्थामा संयमित रहन र धैर्य धारण गर्न हामी सबैमा हार्दिक अपील गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्वन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ,’ प्रवक्ता मानन्धरले भनेका छन् ।

बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि काठमाडौं महानगरपालिकाको महानगरीय प्रहरीले पार्किङको विषयमा सेयरिङ राइडर गणेश नेपालीको मोटरसाईकलमा ह्वील लक लगाइदिएर बादविवाद गरेपछि तनाबमा परेका गणेश नेपालीले आत्मदाहको प्रयास गरेका थिए । गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ ।

घटनालाई लिएर झण्डै दुईतिहाइको रास्वपाको सरकारको आलोचना भइरहेको छ । काठमाडौं उपत्यकामा प्रदर्शनहरू समेत भएका छन् ।

Published : Friday, 2026 July 10, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया