बागमती प्रदेश बुद्धिचालमा ललितपुरको अग्रता

हेटौंडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत ब्लिट्ज् बुद्धिचाल खेलका ४ चरण सम्पन्न भएका छन् ।

शनिबार हेटौँडामा आयोजित प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशस्तरीय प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाबाट ३९ जना राष्ट्रिय खेलाडी सहभागी भएका छन् । बुद्धिचाल खेलमा ललितपुरका सुरोज महर्जनले ४ जीत दर्ता गर्दै पूर्ण अंकका साथ एकल अग्रता बनाएका छन् ।

प्रतिस्पर्धामा भक्तपुरका पुरुषोत्तम दुवाल ३.५ अंक टाइब्रेक प्वाइन्टका आधारमा दोस्रो स्थानमा छन् । समान अंक जोडेर काठमाडौं जिल्लाका अर्जुन महर्जन तेस्रो स्थानमा रहे ।

स्पर्धामा ३ अंक बनाउँदै भक्तपुरका गणेश अवाल, काभ्रेका शैलेन्द्र न्यौपाने, मकवानपुरका बलराम सञ्जेल, काठमाडौंका गोविन्द खड्का, ललितपुरका अशोकमोहन श्रेष्ठ र चितवनका आशिष गुरुङले शीर्ष तीनलाई पछ्याउँदै छन् ।

खेलमा समान २.५ अंक जोडेर दोलखा जिल्लाका विमल भण्डारी र भक्तपुर जिल्लाका गणेशमान दुवाल क्रमशः एघारौं स्थानमा उभिएका छन् ।

महिलातर्फको ब्लिट्ज् विधामा काठमाडौंका रिया श्रेष्ठले सबै खेलमा विजयी हासिल गर्दै ४ अंकका साथ अगाडि रहन सफल भएका छन् ।

प्रतियोगितामा धादिङका त्रिसरा लामा, काठमाडौंका नेलिसा ओझा, रामेछापका ओजस्वी श्रेष्ठ, भक्तपुरका श्रेषा दुवाल, चितवनका लक्ष्मी कँडेल, ललितपुरका ग्लोसी श्रेष्ठ र मकवानपुरका लीलादेवी तिमल्सिना समान ३ अंक जोडेर पदकका लागि दाबेदारी पेश गरिरहेका छन् ।

बागमती प्रदेश सरकारको सहयोगमा क्लासिकल तथा र्‍यापिडतर्फ सम्पन्न प्रतिस्पर्धामा ललितपुरले २ स्वर्ण १ रजत पदक हासिल गरी समूहमा अग्रता लिन सफल बनेका छन् ।

चितवनले २ स्वर्ण प्राप्त गर्दै समूहमा दोस्रो स्थान प्राप्त गरेका छन् । काठमाडौंले १ रजत १ काश्य जितेर तृतीय स्थानमा छन् ।

पदक तालिकाका काभ्रेले १ रजत, मकवानपुरले १ रजत, दोलखाले १ काश्य, रामेछापले १ काश्य र भक्तपुरले १ काश्यलपदक खातामा जम्मा गरेका छन् ।

बागमती प्रदेश सरकारका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारको विनियोजित विकास तथा चालु बजेट मार्फत नवीनतम कामहरूको थालनी गरिरहेको बताएका छन् ।

आफ्नो जिम्मेवारी र दायित्व निर्वाह गर्ने क्रममा मुख्यमन्त्री बानियाँले नागरिकले चासो दिएको तेस्रो बागमती प्रदेश स्तरीय खेल गतिविधि मार्फत सहि लगानी गर्दै राष्ट्रका कर्णधारहरूको स्तर उन्नतिसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा दह्रिलो उपस्थिति देखाउने अवसर श्रृजना हुने बताए ।

Published : Saturday, 2026 June 20, 9:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया