कृतिसरा र रुपेश बने राष्ट्रिय चेस विजेता

दमक । राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल तथा कृतिसरा अधिकारीले जितेका छन् ।

शुक्रबार झापाको दमकमा सम्पन्न प्रतियोगितामा जैसवाल र अधिकारीले प्रतिस्पर्धीहरूलाई हराउँदै उपाधि हात पारेका हुन् ।

जैसवाल र अधिकारीले उपाधि जितेसँगै नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश तथा जिल्ला बुद्धिचाल संघ झापाको स्थानीय आयोजनामा २६ औं खुल्ला र ११ औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ ।

आगामी सेप्टेम्बर उज्बेकिस्तानको समरकन्दमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि पुरुष तथा महिला गरी १० जना खेलाडी छनोट भएका छन् ।

प्रतिस्पर्धाको खुलातर्फ रौतहटका एफएम रुपेश जैसवालले ११ खेलबाट ९.५ अंक जोडेर उपाधि रक्षा गरेका छन् । तेस्रो पटक नेपाल विजेता बनेका रुपेशले अन्तिम खेल सुश्रुत दहालसँग बराबरी खेलेका थिए ।

दोलखाका युवा आशिष फुयाल ७.५ अंकसहित दोस्रो तथा पूर्व नेपाल च्याम्पियन राजन सुबेदी ७ अंकसहित तेस्रो स्थानमा रहे ।

समान ७ अंक बनाएर टाइब्रेकका आधारमा झापाका सिएम सुश्रुत दाहाल चौथो, काठमाडौंका सिएम पुरुषोत्तम सिलवाल पाँचौँ तथा पाँचथरका रिशोन थापा छैटौँ स्थानमा रहे ।

झापाका ज्वाला इम्बुङ ६ अंक, सुनसरीका मुहान नरसिंह श्रेष्ठ ४.५ अंक, समान ३ अंक जोडेका खोटाङका धिरेन राई, काठमाडौंका पुरुषोत्तम चौलागाईं, बाँकेका अभिक शाह र १.५ अंकमा ललितपुरका कमल श्रेष्ठले बाह्रौं स्थानमा रहे ।

महिलातर्फ झापाकी कृतिसरा अधिकारीले उत्कृष्ट प्रदर्शन गर्दै ८.५ अंकसहित राष्ट्रिय महिला च्याम्पियनको उपाधि जितिन् ।

झापाकै पूजा भण्डारी ७.५ अंकसहित दोस्रो तथा दोलखाका निहाना श्रेष्ठ ७ अंकसहित तेस्रो स्थानमा रहिन् । समान ७ अंक प्राप्त गरेकी एन्जल महर्जन टाइब्रेकका आधारमा चौथो स्थानमा सीमित भइन् ।

डाईरेक्ट इन्काउण्टर, सोन्नेवर्ग बर्जर टाइब्रेकका आधारमा समान ६.५ अंक जोडेर काठमाडौंका बिनिता कपाली, निवर्तमान ओमन नेपाल च्याम्पियन सिन्दिरा जोशी र झापाका प्रिया क्षेत्री क्रमशः छैटौं स्थानमा रहे ।

ताप्लेजुङका सुशिला गुरुङ ५.५ अंक, बाँकेका इशा गिरी ४.५ अंक, झापाका पुनम प्रसाईं ३ अंक, प्रविशा दवाडी २ अंक र नुमा सुब्बा १.५ अंक जोडेर स्पर्धा अन्त्य गरेका छन् ।

सदस्य राजु ताम्राकारका अनुसार विश्व बुद्धिचाल महासंघले आयोजना गर्ने ४६ औं चेस ओलम्पियाडमा नेपाल बुद्धिचाल महासंघले पूर्व घोषणा गरे अनुसार पुरुषतर्फ एफएम रुपेश जैसवाल, आशिष फुयाल, राजन सुवेदी, सिएम सुश्रुत दहाल र सिएम पुरुषोत्तम सिलवाल छनोट भएका भएका छन् ।

महिलातर्फ पूर्व विजेता सिन्दिरा जोशी, कृतिसरा अधिकारी, पूजा भण्डारी, निहाना श्रेष्ठ एञ्जल महर्जन छनोट भएका छन् ।

Published : Friday, 2026 June 19, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया