राष्ट्रिय बुद्धिचालमा उपाधि रक्षा गर्न कडा प्रतिस्पर्धा

दमक । राष्ट्रिय महिला बुद्धिचाल प्रतियोगिताको चौथो दिन सातौं चरणसम्म रुपेश जैसवाल र कृतिसरा अधिकारीले अग्रता कायम गरिरहेका छन् ।

बुधबार झापाको दमकमा पुरुषतर्फ एफएम रुपेश जैसवालले ६ जीत र १ बराबरी खेल प्रदर्शन गरि ६.५ अंक जोडेका छन् । वर्तमान नेपाल च्याम्पियन रेटेड रुपेशले प्रतिस्पर्धामा दबदबा कायम गर्दै उपाधि रक्षातर्फ अग्रसर देखिएका छन् ।

एफएम रुपेशले अघिल्लो २ स्पर्धामा आशिष फुयाल र सिएम पुरुषोत्तम चौलागाईंमाथि जीत दर्ता गरेका थिए । २०६७ रेटेड रुपेश आठौं चरण पुछारका धिरेन राईसँग प्रतिस्पर्धामा छन् ।

दोस्रो स्थानमा रहेका रिसोन थापाले ५.५ अंक जोडेर शीर्ष खेलाडीलाई पछ्याइरहेका छन् । २०६१ रेटेड रिसोनले यसअघि सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईलाई पराजित गरेका थिए । रिसोन एआईएम अभिक शाहसँग स्पर्धामा छन् ।

पूर्व नेपाल च्याम्पियन तथा वर्तमान तृतीय राजन सुवेदी र वर्तमान नेपाल उपविजेता पुरुषोत्तम सिलवाल समान ४.५ अंक बनाएर संयुक्त तेस्रो स्थानमा छन् । १९४४ रेटिङ राजनले अभीक र ज्वाला ईम्बुङ दुवैसँग बराबरी खेले ।

युवा २०३४ रेटेड पुरुषोत्तम सिलवालले सुश्रुत दहाल र आशिष फुयालसँग बराबरी खेल खेल्दै सम्भावना जीवित राखेका छन् । नेपाल उपविजेता सिएमले पहिलो खेल एफएम रुपेशसँग हार व्यहोरेका थिए ।

आशिष र मुहान नरसिंह श्रेष्ठको समान ३.५ अंक छ । ज्वाला ईम्बुङको ३ अंक, एआईएम अभिक शाहबो २.५ अंक, सिएम पुरुषोत्तम चौलागाईंको २ अंक, कमल श्रेष्ठको १.५ अंक र धिरेन राईको १ अंक रहेको छ ।

राष्ट्रिय खेलकुद परिषदले गठन गरेको प्रतियोगिता सञ्चालन समितिको रेखदेखमा बुधबार महिलातर्फ शीर्ष खेलाडी कृतिसरा अधिकारीले ५.५ अंकका उपाधितर्फ अगाडि बढेकी छिन् ।

कृतिसरालाई पछ्याउँदै विनिता कपाली ५ अंक जोडेर दोस्रो स्थानमा उभिएकी छिन् । विनिताले प्रविशा दवाडी र पुनम प्रसाईंलाई हराइन् ।

४ जना महिला खेलाडी समान ४.५ अंक जोडेर प्रतियोगितालाई रोचक मोडमा पु¥याएका छन् । प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सिन्दिरा जोशी र पूजा भण्डारी संयुक्त तृतीय स्थानमा छन् ।

एञ्जल महर्जन र सुशीला गुरुङको समान ३.५ अंक बनेको छ । ईशा गिरी ३ अंक, प्रविशा दवाडी १.५ अंक, नुमा सुब्बा तथा पुनम प्रसाईंको समान १ अंक रहेको छ ।

११ चरणको खेल एकआपसमा प्रतिस्पर्धा गरि ओलम्पियाड छनोट तथा राष्ट्रिय शीर्ष वरीयता निर्धारण गरिने प्रतियोगिताको अन्तिम ४ चरण बाँकी रहेको सदस्य राजु ताम्राकारले जानकारी गराएका छन् ।

Published : Wednesday, 2026 June 17, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया