महिला तथा पुरुष राष्ट्रिय बुद्धिचाल शुरु

दमक । नेपाल बुद्धिचाल महासंघको तत्वावधानमा २६औँ राष्ट्रिय पुरुष तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता झापाको दमकस्थित होटल कामाक्ष्यमा शुरु भएको छ ।

प्रदेश खेलकुद विकास वोर्ड, कोशी प्रदेश तथा झापा जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा प्रतिस्पर्धा ६ दिन सञ्चालन हुनेछ ।

आइतबार पहिलो चरणमा मुहान नर्सिङ श्रेष्ठ, एफएम रुपेश जैसवाल र आशीष फुयालले जीत प्राप्त गर्दै सुखद् शुरुआत गरेका छन् ।

ज्वाला इम्बुङ, सिएम सुश्रुत दाहाल, राजन सुवेदी, रिशोन थापा, सिएम पुरुषोत्तम चौलागाईं र धिरेन राईले बराबरी खेल्दै समान ०.५ अंक जोडेका छन् ।

महिलातर्फ प्रिया क्षेत्री, निहाना श्रेष्ठ, सुशीला गुरुङ, कृतिसारा अधिकारी तथा बिनिता कपालीले विजय हासिल गरेका छन् । पुनम प्रसाईं र प्रविशा दवाडीले बराबरी खेल्दै ०.५ अंक प्राप्त गरेका छन् ।

प्रतियोगिताका शीर्ष चार खेलाडी सहित वर्तमान राष्ट्रिय विजेता गरि दुवै विधाका पाँच पाँच खेलाडी आगामी सेप्टेम्बरमा हुने ४६ औँ चेस ओलम्पियाडका लागि नेपाली टोलीको छनोट हुनेछन् ।

वर्तमान नेपाल शीर्ष ३ तथा राष्ट्रिय बी बाट छनोट भएका शीर्ष ९ जना गरि १२ जना राष्ट्रिय खेलाडीबीच ११ चरणको एक आपासमा राउण्ड रोबिन खेलमार्फत वरीयता निर्धारण हुने भएको छ ।

सबै खेलाडीलाई यातायात खर्च, आवास तथा २ लाख नगद पुरस्कार व्यवस्था रहेको प्रतियोगिताको उदघाटन सोमबार २ बजे हुनेछ ।

Published : Sunday, 2026 June 14, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया