भारी मन बनाउँदै कपिलवस्तु कांग्रेसका सहसचिवद्वारा पार्टी परित्याग, स्वतन्त्र बस्ने

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिति, कपिलवस्तुका सहसचिव मो.वाजीह अरशदले पार्टी परित्याग गर्दै राजीनामा दिएका छन् ।

आइतबार अरशदले कपिलवस्तु कांग्रेसका सभापतिलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् । उनले कांग्रेसको साधारण सदस्यता समेत नरहने गरेर राजीनामा दिएको जनाएका छन् । अरशदले आफूलाई साथ दिने जिल्लाका नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसभित्रको गुट, उपगुट, घेराबन्दी, राजनीतिक र व्यक्तिगत प्रतिशोधका कारण संरक्षण गर्न नसकेको भन्दै माफी मागेका छन् ।

‘हाल नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला सह–सचिव पदमा रहेर काम गर्दै आएको छु,’ अरशदले भने, ‘निरन्तर नेपाली कांग्रेसमा काम गर्दा अग्रजको सम्मान र पार्टीभित्रको अनियमितताको बिरुद्धमा आफ्नो आवाज सधै बुलन्द गर्दै आएको थिए ।’

उनले भने, ‘कपिलवस्तु कांग्रेसको नेतृत्वको पृष्ठभूमि बागी र बिद्रोही रहेको हुँदा पार्टीका पुराना कार्यकर्ताहरूलाई बिस्थापित गराउने गरी ब्योहार देखिएको हुँदा म आफ्नो पदमा रही पार्टीप्रतिको इमान्दार कार्यकर्ताहरूलाई सम्मान दिलाउन असफल भएको छु ।’

‘पार्टीको हितमा कुरा उठाउँदा चौतर्फी नेतृत्वको घेराबन्दीमा पर्दै आएको हुनाले जिल्लाको नेतृत्वको कार्यशैलीसँगको मेरो असहमति रहेको हुँदा म आफ्नो पद र नेपाली कांग्रेसको साधारण सदस्य समेतबाट आजैको दिनदेखि राजीनामा दिने घोषणा गर्दछु,’ अरशदले भने ।

‘आगामी दिनहरूमा म महामानव विश्वेश्वर कोइरालाले देखाएको बाटो र प्रजातान्त्रिक मूल्य र मान्यताप्रति स्वतन्त्र रहि इमान्दार रहने गरी देश र जनताप्रति समर्पित रहनेछु,’ अरशदले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको २०५५ सालदेखि साधारण सदस्य रही २०५५ फागुन २९ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (कपिलवस्तु बहुमुखी क्याम्पस)को निर्वाचनबाट सदस्य पदमा विजयी भइ आफ्नो राजनीतिक यात्राको सुरुवात गरेको अरशदले स्मरण गरेका छन् । उनले २०६० सालमा सोही क्याम्पसको स्ववियु सभापति निर्वाचित भइ २०६२ साल माघ ०५ गते र फागुन १५ गते जनआन्दोलनको क्रममा गिरफ्तार भइ २०६२ साल चैत २५ गतेका दिन तौलिहवामा माओवादी आक्रमणको समय गिरफ्तारीमुक्त भएको बताएका छन् । उनले त्यस पश्चात २०६३ साल फागुन १२ गते सम्पन्न नेविसंघको ८औं जिल्ला अधिवेशनबाट कपिलवस्तु जिल्लाको सभापति निर्वाचित भइ पार्टीप्रति समर्पित रहेर संगठन गरेको बताए ।

कथित विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गरेर गगन थापाहरूले नेपाली कांग्रेसलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएपछि देशभरि असन्तुष्टि बढेको छ । इमान्दार नेता तथा कार्यकर्ताहरूले गगन थापाहरूका कारण नेपाली कांग्रेस पार्टी परित्याग गर्ने, अन्य दलमा प्रवेश र स्वतन्त्र भएर बस्ने क्रम बढेको छ ।

Published : Sunday, 2026 June 7, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया