ललितपुरमा देउवा समूह राजनीतिक हत्या स्वीकार गर्न तयार, अध्यावधि नगर्ने निर्णय

जावलाखेल । नेपाली कांग्रेस, ललितपुरका नेता तथा अगुवा कार्यकर्ताहरूले क्रियाशील सदस्यता नवीकरण भइसकेको भन्दै अध्यावधि नगर्ने निर्णय गरेका छन् ।

आइतबार ललितपुरमा कांग्रेस नेता मदनबहादुर अमात्यको निवासमा भएको भेलाले १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा फेरि अध्यावधि आवश्यक नरहेको ठहर गरेको हो । भेलामा शेरबहादुर देउवा निकटका अगुवा नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सभाका सांसद समेत रहेका कांग्रेस नेता जीतजंग बस्नेतले नवीकरण भइसकेको क्रियाशील सदस्यतालाई अध्यावधि नगर्ने निर्णय भएको जानकारी दिए । उनले भने, ‘१५औँ महाधिवेशनका लागि भनेर क्रियाशील सदस्यहरूले नवीकरण गरिसक्नुभएको छ । नयाँ क्रियाशील सदस्यता वितरण भएको छ । सम्वाद र सहमति गरेर १५औँ महाधिवेशनको तयारी गरे भाइल्हाछ । धेरै गफ र कुरा गर्न आवश्यक छैन । शेरबहादुर देउवा निकटका अगुवा नेता तथा कार्यकर्ताहरूले अध्यावधि नगर्ने निर्णय गरेका छौँ ।’

नेपाली कांग्रेस, ललितपुरका उपसभापति सुदर्शन घिमिरेको सभापतित्वमा आयोजित अगुवा नेता, कार्यकर्ता भेट्घाट तथा चियापान कार्यक्रममा सहभागीहरूले अध्यावधिका नाममा कार्यकर्ताहरूलाई दुःख दिने काम भएको बताएका छन् ।

भेलामा अगुवा नेता तथा कार्यकर्ताहरूले कसैको सनकमा अध्यावधिका नाममा कांग्रेसमा दास बनेर बस्न नसक्ने चेतावनी दिएका छन् । उनीहरूले बरु आफू राजनीतिक प्रतिशोध र राजनीतिक हत्या सहन तयार रहने तर, नवीकरण भइसकेको क्रियाशील सदस्यता अध्यावधि नगर्ने बताएका छन् ।

Published : Sunday, 2026 June 7, 8:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया